डुबान जोखिम बढ्दै जाँदा गौरका स्थानीयको चिन्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १, सोमबार (१ घण्टा अघि)
  • ३९ पटक पढिएको
डुबान जोखिम बढ्दै जाँदा गौरका स्थानीयको चिन्ता

रौतहट, ०१ असार। रौतहटको गौर–बैरगनिया सीमा क्षेत्रमा भारतीय पक्षले अन्तर्राष्ट्रिय अभ्यास र द्विपक्षीय समझदारीको भावना विपरीत एकतर्फी रूपमा निर्माण गरेको बाँधलाई मर्मतको नाममा थप अग्लो र बलियो बनाएको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। स्थानीयका अनुसार यसले आगामी वर्षायाममा गौरसहित दर्जनौँ नेपाली बस्तीमा डुबानको जोखिम अझ बढाएको छ।

सीमा क्षेत्रको दशगजा वा त्यसको आसपास दुवै देशको सहमतिबिना कुनै पनि स्थायी भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नहुने प्रचलित व्यवस्था रहे पनि भारतीय पक्षले माटो थपेर बाँधको उचाइ र चौडाइ बढाउने काम गरिरहेको स्थानीयको दाबी छ।

स्थानीय अमित केशरीका अनुसार भारतले बैरगनियालगायत बिहारका सहरलाई डुबानबाट जोगाउन सीमा क्षेत्रमा करिब १५ फिट अग्लो र पाँच किलोमिटर लामो बाँध निर्माण गरेपछि त्यसको प्रत्यक्ष असर नेपालतर्फ परेको छ। उनका अनुसार बाँधका कारण वर्षायाममा बाढीको प्राकृतिक बहाव अवरुद्ध हुँदा गौरसहित दर्जनौँ नेपाली गाउँहरू हरेक वर्ष डुबानमा पर्दै आएका छन्।

उनले बैरगनियाको पूर्वी क्षेत्रमा रहेको बाँधका तीनवटा सुलीसगेट भारतीय पक्षले बन्द गरिदिने गरेका कारण सदरमुकाम गौर जलमग्न हुने गरेको दाबी गरे। गौर डुबानमा परेपछि नेपालीहरूले बाँध भत्काउने वा सुलीसगेट खोल्ने प्रयास गर्न सक्ने आशंकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोली २४सै घण्टा हतियारसहित बाँध क्षेत्रमा तैनाथ रहने गरेको उनको भनाइ छ।

नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका सचिव गौतम श्रेष्ठका अनुसार बाँध अग्लो हुँदा नेपालतर्फबाट बग्ने लालबकैया र वाग्मती नदीको पानीले सहज निकास पाउन सक्दैन। यसले पानी ‘ब्याक’ भएर गौरसहित आसपासका बस्तीमा पस्ने र वर्षेनि ठूलो धनजनको क्षति हुने गरेको उनले बताए।

श्रेष्ठका अनुसार केही वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी किरण थापाको कार्यकालमा भारतीय पक्षले यस्तै गरी बाँधमा माटो थप्न खोज्दा नेपालका स्थानीय प्रशासन र सशस्त्र प्रहरीले आपत्ति जनाएपछि उक्त काम रोकिएको थियो।

गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजयकुमार गुप्ताले नेपाल–भारतबीचको सहमतिअनुसार सीमारेखाको निश्चित दूरीभित्र एकतर्फी रूपमा बाँध वा सडकजस्ता अग्ला संरचना निर्माण गर्न नहुने बताए। तर भारतले मर्मतको बहानामा बाँधमा मनपरी ढंगले माटो थप्ने र चौडाइसमेत बढाउने काम गरिरहेको उनको आरोप छ।

उनका अनुसार वाग्मती नदीदेखि पश्चिमतर्फ बकैया नदीपारि बन्जराहा गाउँसम्म फैलिएको करिब पाँच किलोमिटर लामो बाँधका कारण गौर नगर क्षेत्र बर्सेनि डुबानमा पर्दै आएको छ। विसं २०७७ मा आफू नगरप्रमुख हुँदा महादेवपट्टि क्षेत्रमा बकैया नदीमा तटबन्ध निर्माण गर्न खोज्दा भारतीय पक्षले अवरोध गरेको अनुभवसमेत उनले सुनाए।

यता रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतीय समकक्षी सितामढी जिल्लाका जिल्ला अधिकारी (डीएम) रुचि पाण्डेसँग बाँधमा माटो थप्ने विषयमा ध्यानाकर्षण गराएको बताएका छन्। उनका अनुसार भारतीय पक्षले उक्त काम केन्द्रीय सरकारको निर्देशनअनुसार भइरहेको जानकारी दिएको छ।

स्थानीय सरोकारवालाहरूले यो विषय दुई देशको सीमा, अन्तर्राष्ट्रिय समझदारी र कूटनीतिक सम्बन्धसँग जोडिएको संवेदनशील विषय भएकाले नेपाल सरकारले औपचारिक कूटनीतिक पहलमार्फत स्थायी समाधान खोज्नुपर्ने माग गरेका छन्।

भारतद्वारा निर्माण गरिएको बाँधका कारण रौतहटका राजदेवी नगरपालिकाको बेलबिछुवा, ब्रम्हपुरी लक्ष्मीपुर, सदरमुकाम गौरका नौवटै वडा तथा इशनाथ नगरपालिकाका बैरिया, औरैया र बन्जरहा गाउँलगायतका क्षेत्र बर्सेनि डुबानमा पर्दै आएका छन्। स्थानीयका अनुसार हरेक वर्ष आउने बाढीले करोडौँ रुपैयाँ बराबरको धनजन र बालीनालीमा क्षति पुर्‍याउँदै आएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस