
पर्सा,१७ कात्तिक। पर्साको विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठाबाट सशस्त्र प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।
सोमबार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) प्रसौनीभाठाबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई शङ्कास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो ।
जाँचका क्रममा उनीहरूले बोकेको झोलाभित्र कपडामा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान डोमी पेस्तोल, ६ राउण्ड डोमी गोली र तीन थान छुरा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यसैगरी, उनीहरूको साथबाट नेपाली रुपैयाँ ९ हजार ४००, भारतीय रुपैयाँ २२ हजार ४०, दुई थान भिभो मोबाइल र विभिन्न किसिमका औषधिसमेत बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
