
रौतहट, ०३ असार। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटहरूले गत जेठ महिनामा अवैध गतिविधि नियन्त्रणदेखि अपराध अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण र जनचेतनामूलक कार्यक्रमसम्म उल्लेखनीय उपलब्धि हासिल गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सिताराम रिजाल को निर्देशन तथा मातहतका प्रहरी युनिटहरूको सक्रियतामा एक महिनाको अवधिमा १ करोड ४३ लाख ५८ हजार ९८५ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतम द्वारा जारी प्रेस विज्ञप्तिअनुसार उक्त अवधिमा तस्करीमा संलग्न एक जना व्यक्ति तथा तीन वटा सवारी साधन समेत नियन्त्रणमा लिइएको छ।
११९ वटा मुद्दा दर्ता
जेठ महिनाभर जिल्ला प्रहरी कार्यालयमा ११९ वटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये ज्यानसम्बन्धी १३, आत्महत्या २६, चोरी २, संगठित तथा आर्थिक अपराध ३०, सामाजिक अपराध १७, महिला तथा बालबालिकासम्बन्धी १२, सवारी ज्यान ५ तथा अन्य १४ वटा रहेका छन्।
त्यसैगरी जघन्य तथा गम्भीर अपराधतर्फ
कर्तव्य ज्यान १, हातहतियार १, बैंकिङ कसुर २४, हुण्डी १ र ठगी ५ गरी कुल ३२ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
फरार प्रतिवादी पक्राउ र जरिवाना असुली
प्रहरीका अनुसार जेठ महिनामा ६५४ वटा ठाडो उजुरी दर्ता भएकामध्ये ५३७ वटा फर्छ्योट भएका छन् भने ११७ वटा उजुरीमाथि अनुसन्धान जारी छ।
फैसला कार्यान्वयनतर्फ १७० जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट १० वर्ष ७ महिना १९ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने ३४ लाख ७३ हजार १२० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रणमा सक्रियता
लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ३ वटा मुद्दा दर्ता गरी ४ जनालाई पक्राउ गरिएको छ। यस क्रममा १८९ किलो ५५ ग्राम गाँजा तथा ६ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
घरेलु हिंसा र अनुचित लेनदेनका उजुरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १६० वटा उजुरी प्राप्त भएकोमा घरेलु हिंसासम्बन्धी ४२ उजुरी दर्ता भएका छन्। तीमध्ये ४३ वटा फर्छ्योट भइसकेका छन् भने ८ वटा घटनामाथि अनुसन्धान जारी रहेको छ।
अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी ७ वटा मुद्दा फर्छ्योट गर्दै पीडितलाई २६ लाख ८५ हजार रुपैयाँ नगद तथा ७ कठ्ठा १५ धुर जग्गा फिर्ता गराइएको प्रहरीले जनाएको छ।
ट्राफिक कारबाहीबाट ९ लाखभन्दा बढी राजस्व
एक महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५९ सवारी साधनलाई कारबाही गर्दा ९ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
उक्त अवधिमा जिल्लामा ८२ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएका छन्।
जनचेतना र सुरक्षा गस्तीमा पनि सक्रिय
प्रहरीले जेठ महिनाभर ९२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी १ हजार ७१५ जनालाई प्रत्यक्ष लाभान्वित गरेको जनाएको छ। विद्यालय केन्द्रित १४ वटा कार्यक्रममा ६७५ विद्यार्थी सहभागी भएका थिए।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रहरीद्वारा ५८१ मोबाइल गस्ती, ४७१ पैदल गस्ती, १ हजार ग्रामीण गस्ती सहित कुल ६ हजार १२० वटा विभिन्न सुरक्षा गस्ती सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण, अपराध अनुसन्धान तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै जाने जनाएको छ।
