
रमेश कुमार यादव
रौतहट, ०७ असार।
रौतहटको वृन्दावन नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट अधिवेशन तथा एघारौँ नगरसभाको बन्दसत्र समयअघि नै सम्पन्न गर्दै जिल्लामै उदाहरणीय स्थानीय तहको रूपमा आफूलाई स्थापित गरेको छ।

नेपाल सरकारले स्थानीय तहलाई असार १० गतेभित्र बजेट अधिवेशन सम्पन्न गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको भए पनि वृन्दावन नगरपालिकाले असार ५ गते नै बजेट अधिवेशन सम्पन्न गरी असार ६ गते बन्दसत्र समेत सम्पन्न गरेको नगर प्रमुख विनोद प्रसाद कुर्मीले जानकारी दिनुभयो।
शनिबार हर्षाहाका साथ सम्पन्न एघारौँ नगरसभाको बन्दसत्रमा नगरका सम्पूर्ण जनप्रतिनिधि, वडा सदस्य, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नगरपालिकाले समयसीमाभन्दा अगावै नगरसभा र बन्दसत्र सम्पन्न गरेको रौतहट जिल्लाकै पहिलो नगरपालिका बनेको दाबी गरिएको छ।

बन्दसत्रलाई सम्बोधन गर्दै नगर प्रमुख कुर्मीले विगतमा भएका असमझदारी तथा तीतामिठा अनुभवलाई आत्मसात गर्दै आगामी दिनमा अझ बढी एकताबद्ध भएर नगरको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनप्रतिनिधिहरूबीचको सहकार्य र समन्वयकै कारण नगरपालिकाले अपेक्षाकृत उपलब्धिमूलक कार्यहरू गर्न सफल भएको बताउनुभयो।
नगर प्रमुख कुर्मीले आफ्नो कार्यकालमा नगरका विभिन्न वडामा रहेका दलित बस्ती तथा पिछडिएका क्षेत्रका सडकहरू पक्की ढलान गरी नागरिकको आवतजावत सहज बनाइएको जानकारी दिनुभयो। शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सडक तथा पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय लगानी गरिएको उल्लेख गर्दै उहाँले नगरवासीलाई आवश्यक सेवा–सुविधा उपलब्ध गराउन नगरपालिका निरन्तर सक्रिय रहेको बताउनुभयो।

“हामी निर्वाचित भएपछि गरेको विकास र विगतका जनप्रतिनिधिहरूले पाँच वर्षमा गरेको विकासको तुलना गर्ने हो भने हामीले पाँच वर्षमै दश वर्ष बराबरको काम गरेका छौँ,” नगर प्रमुख कुर्मीले दाबी गर्दै आगामी निर्वाचनमा पनि वर्तमान नेतृत्वलाई निरन्तरता दिन नगरवासीसँग आग्रह गर्नुभयो।
बन्दसत्रको अवसरमा नगरपालिकाले सामाजिक सम्मानको कार्यक्रम समेत आयोजना गरेको थियो। कार्यक्रममा उपस्थित ८५ वर्षीय एक ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो। साथै नगरसभा सफल बनाउन दिनरात खटिएका जनप्रतिनिधि, वडा सदस्य, कार्यपालिका सदस्य तथा कर्मचारीहरूलाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो।

यसअघि असार ५ गते सम्पन्न एघारौँ नगरसभाबाट आर्थिक वर्ष २०८३/०८४ का लागि ६० करोड ९२ लाख २५ हजार ८ सय ८१ रुपैयाँ बराबरको बजेट प्रस्तुत तथा पारित गरिएको थियो। प्रस्तुत बजेट अनुसार संघीय सरकारबाट ५५ करोड १५ लाख १८ हजार रुपैयाँ तथा मधेश प्रदेश सरकारबाट ४ करोड ७ लाख २७ हजार ८ सय ८१ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। नगरपालिकाले आन्तरिक स्रोतबाट ९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य समेत निर्धारण गरेको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, पशुपालन प्रवर्द्धन, सडक विस्तार, खानेपानी, सरसफाइ तथा अन्य आधारभूत पूर्वाधार विकासका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। नगरवासीको जीवनस्तर उकास्ने, रोजगारी सिर्जना गर्ने तथा समग्र नगरको दिगो विकासलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।

स्थानीय तहको सुशासन, विकास र वित्तीय अनुशासनको दृष्टिले समयअघि नै नगरसभा तथा बन्दसत्र सम्पन्न गरेको वृन्दावन नगरपालिकाको कार्यशैलीलाई अन्य स्थानीय तहका लागि पनि सकारात्मक उदाहरणका रूपमा हेरिएको छ।




