चैत २६ गते
नेपाल पत्रकार महासंघ रौतहट शाखाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भई निर्वाचनको परिणाम पनि घोषणा भएको छ । रौतहट शाखाको निर्वाचनबाट प्रेमचन्द्र झा अध्यक्ष तथा मदन ठाकुर सचिवमा निर्वाचत भएका छन् । दुवैजना यस जिल्लाका सिनियर पत्रकारमध्ये पर्दछन् । प्रेमचन्द्र झाले आगामी तीन वर्षसम्म यस कार्य समितिको नेतृत्व गर्ने छन् र प्रशासनिक नेतृत्व मदन ठाकुरले गर्नेछन् । नवनिर्वाचित अध्यक्ष झा यसपूर्व पनि एक कार्यकाल अध्यक्ष रहिसकेका छन् भने नवनिर्वाचित सचिव ठाकुर पनि यसपूर्व नै एक कार्यकाल कोषाध्यक्ष रहिसकेका छन् । यस दृष्टिकोणले यी दुवैजना स्वतः यस समितिका र जिल्लाका पत्रकारका सिनियर भए भन्दा फरक नपर्ला । मूलतः प्रेमचन्द्र झाको नेतृत्वमा नवनिर्वाचित नेपाल पत्रकार महासंघ रौतहट शाखाको सम्पूर्ण टोलीलाई हार्दिक बधाई ।
रौतहटेली पत्रकारिताका धेरै चुनौतीहरु रहेका छन् । ती चुनौतीहरुलाई सम्बोधन गर्नु र रौतहटेली पत्रकारितालाई मर्यादित बनाउनु अहिलेको प्रमुख आवश्यकता हुन् । भर्खरै निवर्तमान हुन लागेको जिल्ला कार्य समितिले जिल्लाका पत्रकारहरुको विश्वास जित्न नसकेको वा अझै अपेक्षा पूरा गर्न नसकेको यस निर्वाचनबाट देखिएको पनि कतिपयले विश्लेषण गरेका छन् । यो विश्लेषणप्रति हाम्रो विचार समान छैन तर पनि के कुरा चाहिँ दर्शाएको छ भने शाखाका सदस्यहरुले नयाँ नेतृत्व चाहिँ खोजेका थिए । यही चाहनाको प्रतिबिम्बन यस निर्वाचनको परिणामले दिएको छ ।
अब यस नयाँ समितिले सबै पक्षलाई कसरी समेट्ने हो भन्ने चुनौती रहेको छ । चुनाव सम्पन्न भइसक्दासम्म निकै कडा चुनौतीपूर्ण निर्वाचन रहेको भन्ने अनुमान गरिएको थियो । नतिजा सार्वजनिक भइसकेपछि यी सब प्रतिस्पर्धाका कुरा बितेका कुरा भए । अब सबै पत्रकारहरु एक हुन्, सबैले आफ्नो क्षेत्रबाट पत्रकारिताको मर्यादालाई बढाउने उपायको खोजी गर्नु आवश्यक छ । रौतहटेली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ हो भन्ने अनुभूति अहिले निर्वाचित टोलीले सबै पत्रकारलाई गराउन सफल होओस् र रौतहटेली पत्रकारिताको उच्च मर्यादालाई प्रदेश तथा देशमा यस टोलीले स्थापित गर्न सकोस् भन्ने शुभकामना छ ।