ओमप्रकाश यादव । रौतहट । बैशाख २३ गते
अन्य जिल्ला सँगै रौतहटमा पनि निषेधाज्ञा लागु भएको छ ।
दोश्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रौतहटमा एकसाता निषेधाज्ञा जारी गरिएको छ ।
देशमा कोभिड १९ संक्रमण बढदो क्रममा रहेकोले यसलाई नियन्त्रण गर्नका लागि रौतहट प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको हो ।
रौतहटमा आउँदो बैशाख २४ गते शनिवार राति १२ बजेदेखी लागु हुनेगरी बैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश लागु गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र डिसीसीएमसीको आज बसेको बैठकले कोरोना भाइरसलाई मध्य नजर गर्दै जिल्लाभरी लागु हुनेगरी निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गौरले जनाएको छ ।
पछिलो समय जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या अत्याधिक मात्रामा बढेपछि यसलाई रोकथामका लागि स्थानीय प्रशासन एन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग एन २०२० को दफा २ बमोजिम निषेधाज्ञा आदेश लागु गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
निषेधाज्ञा अवधिमा होटल तथा रेस्टुरेन्ट, ब्युटिपार्लर, कपडा पसल, जिमखाना, शैक्षिक संस्था, टयूसन सेन्टर र हाट बजारहरु पुर्ण रुपमा बन्द गरिएको छ भने औषधी तथा औषधीजन्य पसल, पेट्रोल पम्प, उद्योग कलकारखाना, अन्य सबै ब्यापार व्यवसाय, खाद्यान, फलफुल, तरकारी, दुधडेरी, ग्यास पसल र शैलुन खुल्ला नै रहने छ ।
निषेधाज्ञामा सार्वजनिक यातायातका सवारी साधनहरु बस, टयाक्सी, जीप, टेम्पो र निजी सवारी साधनमा चार र दुई पांग्रे सवारी साधनलाई बन्देज गरिएको छ ।
यसबाहेक अत्यावशेक सवारी साधनलाई चल्न दिने निर्णय गरिएको जनाइएको छ ।
जारी भएको निषेधाज्ञा आदेश उल्लंघन गर्नेलाई संक्रामक रोग एन २०२० अनुसार कार्यवाही गर्ने जिल्ला प्रशासन कार्यालय रोतहटले चेतावनी दिएको छ ।
यसअघि देशको ५२ वटा जिल्लामा पुर्ण र आशिंक रुपमा निषेधाज्ञा लागु भइसकेको छ ।