धर्मेन्द्र कुमार यादव–महोत्तरी,बैशाख ३० गते
बिहीबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) महोत्तरीको बैठकको सिफारिस तथा जिल्ला सुरक्षा समितिको निर्णय समतेको आधारमा वैशाख ३१ गते राति १२ बजेसम्म लागु गरेको निषेधाज्ञाको अवधि जेठ १० गते राति १२ बजेसम्मको लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । बुधवार प्रमुख जिल्ला अधिकारी तिर्थ राज भट्टराईले एक सूचना जारी गर्दै जिल्लामा अगामी जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी गराएका हुन् । कोरोनाको दोस्रो लहर शुरुभएपछि वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जारी गरिएको निषेधाज्ञा जारी गरेको थियो । पहिलो पटक जारी गरिएको निधेषाज्ञाको समय बिहीवार राति सकिँदै छ । पहिलो चरणको निषेधाज्ञा सकिनु अघि पुनः प्रशासनले १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञा अवधिमा अति आवश्यक बाहेक घरबाट ननिस्किन प्रशासनले आग्रह गरेको छ ।