रौशन चौधरी । बैशाख ३० गते रौतहट
मुस्लिम समुदायको पवित्र पर्व इद उल फित्र भोली मनाइने भएको छ । राष्ट्रिय मदरसा संघका अनुसार बिहीबार नेपालको कुनै पनि भागमा चन्द्रमा नदेखिएको र छिमेकी देशहरुबाट पनि चन्द्रमा देखेको समाचार नआएकाले आज रमजान र भोलि इद मनाइने भएको हो । संघका अध्यक्ष डाकक अब्दुल गनी अलकुफी, महासचिव मौलाना मशहूद खां नेपाली र संस्थापक शमीम अहमद नदवीले भोली इद मनाउने जानकारी दिएका हुन् । रमजान महिनाको शुरुवात चन्द्रमा देखेर हुने भएकाले कुनै बर्ष ३० दिन तथा कुनै बर्ष २९ दिनको रमजान महिना हुन्छ । इस्लाम धर्मको पवित्र महिना रमजान वैशाख १ गते दखि शुरु भएको थियो । मुस्लिम धर्मावलम्बीहरुले पवित्र महिनाका रुपमा एक महिनासम्म रमजानको व्रत बस्ने गर्छन् । रमजानको महिनामा मुस्लिम समुदायभित्र आफ्नो घरको वरिपरि वा गाउँ, टोलमा रहेका गरिब असहायहरुलाई सहयोग गर्ने प्रचलन रहिआएको छ ।