अहिले सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई विभिन्न क्षेत्रबाट स्वास्थ्य सहयोग हस्तान्तरण भइरहेको छ । कोरोनाको कठिन समयमा अहिले सबैभन्दा अग्रणी मोर्चामा डटेर यी तीन क्षेत्र कार्यरत छन् । यी तीन क्षेत्रको महत्व यस्तै आपतविपतको समयमा समाजले बुझ्ने गरेको छ । अहिले कोरोनाको कारणले समाज अत्यन्त पीडित छ । सबैतिर डर व्याप्त छ । सबैले कोरोनालाई जसरी पनि हराउनु पर्छ भन्ने सोचेर आफ्नो क्षेत्रबाट सकेको योगदान दिइरहेका छन् । यसै कारण विभिन्न क्षेत्रबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई स्वास्थ्य सामग्रीको सहयोग प्राप्त भइरहेको छ । यसलाई सकारात्मक रुपमा लिइनु पर्छ । सबै पक्षले सकारात्मक नै लिएका छन् पनि ।समाजमा यस्ता विपन्न वर्ग पनि रहेका छन् जसलाई यस्ता सहयोगको आवश्कता रहेको छ । केही व्यक्ति तथा संस्था दिन पनि तयार हुन्छन् तर जब समाजमा यस्ता सामग्री सहयोग गर्न जान्छन् तब त्यत्तिबेला समाजमा एउटा नराम्रो स्वरुप के देखिन्छ भने हुनेखानेहरु पनि लिन चाहन्छन् । आफूलाई नदिए विरोध गर्न लगाउँछन् । वितरण नै गर्न दिँदैनन् । यस कारण कतिपय मानिस जो साँच्चिकै यस्ता सहयोगको अपेक्षी हुन्छन्, तिनीहरु पनि लाभान्वित हुनबाट वञ्चित हुन्छन् । जसले दिन खोजेका हुन्छन्, उनले चाहेर पनि दिन सक्दैनन् । वास्तवमा समाजमा जसलाई अत्यन्त आवश्यक छ र जो आफूले किन्न सक्दैनन्, तिनीहरुलाई यस्ता स्वास्थ्य सामग्री दिइनु पर्दछ । अहिलेको समयमा मास्क, सेनेटाइजर र हात धुने साबुन हरेकले अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ तर कोरोनाको कारण लागेको निषेधाज्ञाले गर्दा दैनिक ज्यालादारीसमेत गुमाएका कतिपय मानिसका लागि घरपरिवारमा यस्ता स्वास्थ्य सामग्री पु¥याउन झन् कठिन भएको हुन सक्छ । समाजमा कार्यरत विभिन्न किसिमका संघसंस्थाहरुले यस्ता अति विपन्न मानिसलाई अहिलेको अवसथमा खोजी गरेर सहयोग गर्नुपरेको छ ।