आफू पुनः चुनाव जित्छु : माधव नेपाल

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन ११, मंगलबार (१३ घण्टा अघि)
  • १०७ पटक पढिएको
आफू पुनः चुनाव जित्छु : माधव नेपाल

ओम प्रकाश यादव
रौतहट,१२ फागुन।
नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफू पुनः बहुमतसहित चुनाव जित्ने बताएका छन्।
रौतहटको विकासमा आफ्नो उल्लेखनीय योगदान रहेको उल्लेख गर्दै उनले रौतहट क्षेत्र नं. १ का जनता यसपटक पनि जनादेशका साथ आफूलाई विजयी बनाउनेमा ढुक्क रहेको बताए।
जनचाहाना ऑनलाइन टेलीभीजनको लोकप्रिय कार्यक्रम ‘सीधा प्रश्नको सीधा जवाफ’ मा आज बोल्दै पूर्व प्रधानमन्त्री नेपालले जनता यसपटक पनि पुरानै दलका उम्मेदवारलाई विजयी बनाउने दाबी गरे। उनले २०७९ सालको निर्वाचनमा रौतहट क्षेत्र नं. १ बाट निर्वाचित भएको स्मरण गराउँदै आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पुनः सोही क्षेत्रबाट उम्मेदवारी दिएको जानकारी दिए।

नयाँ दलहरूसँग देश चलाउने ठोस भिजन र योजना नरहेको दाबी गर्दै उनले आम जनताले पुनः पुरानै दल र अनुभवी नेतृत्वलाई विश्वास गर्ने बताए।

आफू सांसद तथा प्रधानमन्त्री हुँदा रौतहटमा शिक्षा क्षेत्रमा कलेज स्थापना गरिएको, बागमतीमा विभिन्न पुलको शिलान्यास गरी काम अगाडि बढाइएको, ६ सयभन्दा बढी युवालाई फ्री भिसा–फ्री टिकटमा वैदेशिक रोजगारीमा पठाइएको, क्षेत्र नं. १ मा सडक तथा बाटोघाटो निर्माण गरिएको तथा गौर–चन्द्रनिगाहपुर सडकलाई फोर लेन बनाउन पहल गरिएको उनले उल्लेख गरे।

यी लगायत दर्जनौं विकासका काम अघि बढाएकाले अधुरा योजना पूरा गर्न जनता यसपटक पनि आफूलाई जिताउनेमा विश्वस्त रहेको उनले बताए।

आफूसँग कसैको प्रतिस्पर्धा नरहेको र सहज तरिकाले चुनाव जित्ने दाबी समेत उनले गरे।

ताजा अपडेट

खोजी गर्नुहोस