
ओम प्रकाश यादव
रौतहट, १३ फाल्गुन। पूर्व मन्त्री तथा रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल कुमार झाले रौतहटको विकासमा आफ्नो महत्वपूर्ण योगदान रहेको बताएका छन्।
जनचाहना टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘सीधा प्रश्नको सीधा जवाफ’ मा कुराकानी गर्दै नेता झाले आफू उद्योग मन्त्री हुँदा रौतहटमा बेरोजगारी अन्त्य गर्ने उद्देश्यले ठूलो उद्योग स्थापना गर्ने योजना अघि बढाएको बताए।
तर केही नेता तथा स्थानीयहरुबाट आवश्यक सहयोग नपाउँदा उद्योग सञ्चालन हुन नसकेको उनको भनाइ छ।
उनका अनुसार गौर–चन्द्रनिगाहपुर सडकलाई चार लेनमा विस्तार गर्ने पहल पनि आफू मन्त्री हुँदा नै सुरु गरिएको हो। उक्त योजना अघि बढेपछि अहिले कामले गति लिएको उनले बताए।
त्यसैगरी गौर–पिपरा सडक कालोपत्रे गर्ने योजना पनि आफ्नो कार्यकालमा ल्याइएको उनले स्पष्ट पारे।
धर्मपुर घाटस्थित बागमती नदीमा पुल निर्माणको परिकल्पना पनि आफूले नै अघि सारेको र त्यसपछि पुल निर्माण भएको उनले दाबी गरे।
रौतहटमा सयौं ठूला विकासका काम आफूले सुरु गरेको उनको भनाइ छ।
रौतहटको समग्र विकासका लागि आफूले निरन्तर काम गरेकाले यसपटक पनि ठूलो दल नेपाली कांग्रेसबाट रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दिएको उनले जानकारी दिए।
आफ्नो कामको मूल्यांकन गर्दै क्षेत्र नं. १ का जनताले आफूलाई विश्वास गर्नेमा आफू ढुक्क रहेको उनले बताए।
कार्यक्रममा उनले आगामी दिनमा रौतहटलाई अझ विकसित बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।

