सूचना लिक प्रकरणमा मुछिएका एसपी चन्दको सरुवा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १२, बुधबार (२ घण्टा अघि)
  • ४२ पटक पढिएको
सूचना लिक प्रकरणमा मुछिएका एसपी चन्दको सरुवा

काठमाडौं, १३ फाल्गुन। गुप्तचर जनशक्ति परिचालन गर्ने एकमात्र सरकारी निकाय राष्ट्रिय अनुसन्धान विभागले सूचना चुहावटको आरोपमा कारवाही गरेका एसपीलाई ‘अति संवेदनशील’ मानिने राष्ट्रिय सुरक्षा परिषदमा सरुवा गरेको छ।

प्रहरीको एसपी सरह मानिने विभागका उप अनुसन्धान निर्देशक शेरजंगबहादुर चन्दलाई संवेदनशील गुप्तचरी सूचना चुहावटको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गर्न निर्देशन दिएपछि कारवाही गरिएको थियो ।

विभागस्रोतका अनुसार एक ग्रेड रोक्का गरिएका उनलाई विभागले ‘कारवाही स्वरुप’ भन्दै राष्ट्रिय सुरक्षा परिषदमा सरुवा गरेको हो । जबकी देशका महत्वपूर्ण सुरक्षा नीति, योजना र त्यसको कार्यान्वयन नै उक्त परिषदबाट हुने गर्दछ । परिषदको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। फौजी नेतृत्व भने नेपाली सेनाले गर्छ ।

विभागस्रोतका अनुसार एसपी चन्दले विभागबाट गरिएका अध्ययन तथा अनुसन्धानका प्रतिवेदनलाई आफ्नो निजी प्रस्तुतिका रुपमा विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक गर्दै आएका थिए । त्यसले अनुसन्धानको गोपनीयता भंग गर्दा राष्ट्रिय सुरक्षामा समेत असर गर्ने भनी अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको थियो ।

अख्तियारकै निर्देशनमा उनको एक तह ग्रड रोक्का भएको स्रोतले जनाएको छ । उक्त कारवाहीको निर्णय विभागका प्रशासन प्रमुख अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) ओम जोशीको नेतृत्वमा भएको हो ।

कारवाही हुनुअघि उनी सिंहदरबारस्थित विभाग मुख्यालयको सूचना संकलन शाखामा कार्यरत थिए । कारवाहीपछि फागुन ८ गते सुरक्षा परिषद पठाउने गरी काज सरुवा गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस