रौतहटमा विद्युत अवरुद्ध हुँदा १६ सय परिवार खानेपानीबाट वञ्चित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ६, आईतबार (२ दिन अघि)
  • ९७ पटक पढिएको
रौतहटमा विद्युत अवरुद्ध हुँदा १६ सय परिवार खानेपानीबाट वञ्चित

रौतहट, ०६ बैशाख। बिद्युत लाइन काटिएपछि रौतहटको मध्यभाग कटहरिया नगरपालिकाका सयौं परिवार खानेपानीबाट बञ्चित हुन पुगेका छन् ।  नगरपालिकाको कार्यालय र वडा ५ स्थित खानेपानी उपभोक्ता समितिको विद्युत लाइन काटिएपछि  पालिकाको सम्पूर्ण काम अवरुद्ध भएको छ भने पछिल्लो तीन दिनदेखि कटहरिया –४ र ५ का १६ सय परिवार खानेपानी सुविधाबाट वञ्चित हुन पुगेका छन् ।

लामो समयदेखि विद्युत महसुल नबुझाएपछि  नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाको टोलीले तीन दिनअघि खानेपानी उपभोक्ता समितिको विद्युत मिटर खोलेर लगेको थियो भने सोही टोलीले पालिका कार्यालयको विद्युत लाइन काटेको थियो ।

विद्युत आपूर्ति नहुँदा पछिलो तीन दिनदेखि कटहरियाका १६ सय परिवार शुद्ध खानेपानीबाट वञ्चित हुँदा नगरपालिका र वडाप्रति स्थानीय आक्रोशित बनेका छन् ।

पालिका र खानेपानीको विद्युत लाइन काटिएर सेवा अवरुद्ध भएको यो पहिलो घटना होइन । यसअघि पनि पटक–पटक विद्युत लाइन काटिएको वडा नम्बर –५ का अध्यक्ष सर्फलाल गुप्ताले बताए । नेपाल विद्युत प्राधिकरण मौलापुरका प्रमुख उमेश दाशले नगरपालिकाले विद्युत महसुल बापतको ७३ हजार र खानेपानी उपभोक्ता समितिले १३   लाख ५१ हजार ४ सय रुपैयाँ विद्युत महसुल बुझाउन बाँकी रहेको बताए ।

उक्त रकम बुझाउन पटक– पटक ताकेता गर्दा पनि नबुझाएकाले मिटर खोलेर लग्नु परेको उनले बताए । यता, प्राथामिक स्वास्थ्य केन्द्र कटहरियाको समेत विद्युत महसुल पालिकाले तिरेको छैन, तत्काल बिरामीको उपचारमा समस्या आउने भनेर त्यहाँको विद्युत लाईन भने नकाटिएको प्रमुख दासले बताए ।
यसैबीच कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले नगरपालिकाको कार्यकालको विद्युत महसुल बापतको रकम दुई दिनभित्र भुक्तानी गर्ने बताएका छन् । तर, खानेपानीको विद्युत महसुल पालिकाबाट तिर्न नसकिने उनले बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस