बृन्दावनमा बाल अधिकारको अवस्था विश्लेषण : ५४ मध्ये ४६ बालबालिका विद्यालय बाहिर, बालविवाह र बालश्रम प्रमुख चुनौती

बृन्दावनमा बाल अधिकारको अवस्था विश्लेषण : ५४ मध्ये ४६ बालबालिका विद्यालय बाहिर, बालविवाह र बालश्रम प्रमुख चुनौती

रमेश कुमार यादब
भदौं ०९, रौतहट
बृन्दावन नगरपालिकामा बालबालिकाको अधिकार तथा अवस्थासम्बन्धी विस्तृत विश्लेषण प्रस्तुत गर्दै सिफारिस र निष्कर्षमाथि छलफल गरिएको छ। छोरी संस्थाको सहयोगमा तथा बृन्दावन नगरपालिकाको समन्वयमा बाल अधिकारको अवस्था विश्लेषणसम्बन्धी प्रस्तुतीकरण तथा छलफल कार्यशाला सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता छोरी संस्थाकी उपाध्यक्ष छाया देवकोटाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मी सहभागी हुनुभएको थियो। कार्यक्रमको सञ्चालन रेखा चौधरीले गर्नुभएको थियो भने छोरी संस्थाकी प्रतिनिधि कोपिला तिमिल्सिनाले बाल अधिकारको अवस्था विश्लेषणबाट प्राप्त तथ्य, निष्कर्ष तथा सिफारिसहरू प्रस्तुत गर्नुभएको थियो।

छोरी संस्थाले पछिल्लो चार महिनासम्म बृन्दावन नगरपालिकाका विभिन्न वडामा पुगेर बालबालिकाको अवस्था, उनीहरूले भोगिरहेका समस्या, विद्यालय पहुँच, बालविवाह, बालश्रम, बाल यौन दुव्र्यवहार, धुम्रपान तथा दुव्र्यसनलगायतका विषयमा तथ्य तथा सूचना संकलन गरेको थियो। सोही क्रममा बालबालिका, अभिभावक तथा सरोकारवालासँग गरिएको परामर्श र सहभागितामूलक विश्लेषणका आधारमा कार्यशालामा बाल अधिकारको वर्तमान अवस्था प्रस्तुत गरिएको हो।

५४ जना बालबालिकामध्ये ४६ जना विद्यालय बाहिर रहेको पाइएको छ । विद्यालय बाहिर रहनुको प्रमुख कारण आर्थिक अभाव, घरायसी कामको
जिम्मेवारी, ज्यालामजदुरी, शैक्षिक सामग्रीको अभाव तथा विद्यालयमा बालमैत्री वातावरणको कमी रहेको बालबालिकाले बताएका छन्। बालबालिकाले आफ्नो पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण नियमित रूपमा विद्यालय जान नसकेको बताएका छन्। कतिपय बालबालिका घरको काममा व्यस्त हुनुपर्ने, परिवारलाई आर्थिक सहयोग गर्नुपर्ने तथा ज्यालामजदुरी गर्नुपर्ने अवस्थाका कारण विद्यालयबाट टाढिएको अध्ययनले देखाएको छ । त्यसैगरी, आवश्यक शैक्षिक सामग्री उपलब्ध नहुँदा पनि पढाइलाई निरन्तरता दिन कठिन भएको बालबालिकाले बताएका छन्।

एक बालिकाले ‘पैसा भएको भए म पनि पढ्न जान्थें’ भन्ने धारणा व्यक्त गरेकी थिइन्। अर्की बालिकाले पढाइमा कठिनाइ भएपछि शिक्षकबाट गाली पाएका कारण आफूले पढाइ छाड्नुपरेको दुःखेसो पोखेको अध्ययनमा उल्लेख गरिएको छ। केही बालबालिकाले पढाइमा कमजोर हुँदा शिक्षकबाट हप्काइ वा सजाय पाएको अनुभव सुनाएका थिए। यस्ता अनुभवले उनीहरूमा विद्यालयप्रति नकारात्मक भावना विकास हुनुका साथै विद्यालय जान मन नलाग्ने अवस्था सिर्जना भएको पाइएको छ। यसले विद्यालय बाहिर रहेका बालबालिकाको समस्या केवल शिक्षा क्षेत्रसँग मात्र सम्बन्धित नभई गरिबी, पारिवारिक अवस्था, सामाजिक बहिष्करण, बाल संरक्षण, स्थानीय सेवा प्रणाली तथा सामाजिक मान्यतासँग समेत जोडिएको बहुआयामिक समस्या रहेको देखाएको छ।

अध्ययनमा सहभागी ५४ जना बालबालिकामध्ये ११ जनाले बालश्रमलाई गम्भीर समस्याका रूपमा पहिचान गरेका छन्। यसले बृन्दावन नगरपालिकाका बालबालिकाको दृष्टिकोणबाट पनि बालश्रम महत्वपूर्ण बाल संरक्षणको मुद्दाका रूपमा रहेको देखाएको छ। बालबालिकासँग गरिएको परामर्शमा बालश्रमको स्वरूपमा लैङ्गिक भिन्नता समेत देखिएको छ। बालिकाहरू विशेषगरी कक्षा ५ देखि ७ पछि विद्यालय छाडेर घरमै भाइबहिनीको हेरचाह गर्ने, बाख्रा चराउने, खाना पकाउने तथा अन्य घरेलु काममा संलग्न हुने गरेको पाइएको छ। त्यसको विपरीत बालकहरू खेतबारीमा काम गर्ने, निर्माण क्षेत्रमा मजदुरी गर्ने, मौसमी कृषि श्रममा संलग्न हुने, इँटा भट्टामा काम गर्ने तथा रोजगारीका लागि भारतका विभिन्न सहरमा जाने गरेको जानकारी अध्ययनका क्रममा प्राप्त भएको छ।

बालविवाह दोस्रो ठूलो प्राथमिकताको समस्या
अध्ययनमा सहभागी ५४ जना बालबालिकामध्ये ३० जनाले बालविवाहलाई गम्भीर समस्याका रूपमा पहिचान गरेका छन्। बालबालिकाको दृष्टिकोणमा बालविवाह समुदायमा विद्यमान प्रमुख बाल संरक्षण समस्यामध्ये दोस्रो प्राथमिकताको मुद्दा रहेको अध्ययनले देखाएको छ। बालकहरूले आफ्नै उमेरका केटी साथीहरूको सानै उमेरमा विवाह भएको देख्दा दुःख र चिन्ता लाग्ने बताएका छन्। बालिकाहरूले भने घरमा आफ्नो विवाहको कुरा चल्न थालेपछि डर, तनाव र असुरक्षा महसुस हुने अनुभव व्यक्त गरेका छन्। एक बालिकाले घरमा ‘अब तेरो विवाह गरिदिने बेला भयो’ भन्ने कुरा चल्न थालेपछि आफूलाई धेरै डर लाग्ने र नराम्रो महसुस हुने बताएकी थिइन्। कार्यक्रममा नगरपालिकाका एक प्रतिनिधिले विद्यालयबाट टाढिएका बालबालिकामध्ये कतिपयको विवाह १६ देखि १८ वर्षकै उमेरमा हुने
गरेको बताएका थिए।यसले विद्यालय छाड्ने अवस्था र बालविवाहबीचको सम्बन्धलाई समेत उजागर गरेको छ।

बाल यौन दुव्र्यवहार र दुव्र्यसनप्रति पनि चिन्ता
कार्यशालामा बाल यौन दुव्र्यवहार, धुम्रपान तथा विभिन्न प्रकारका दुव्र्यसनमा बालबालिकाको संलग्नता र त्यसबाट उत्पन्न जोखिमका विषयमा समेत छलफल गरिएको थियो। बालबालिकालाई सुरक्षित वातावरण प्रदान गर्न परिवार, विद्यालय, स्थानीय तह तथा समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए। बाल अधिकार संरक्षणका लागि समस्या पहिचान मात्र नभई त्यसको कारण, प्रभाव र समाधानका उपायलाई समेत प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगरभित्र बालबालिकासँग सम्बन्धित देखिएका समस्याको समाधानका लागि नगरपालिका गम्भीर रहेको बताउनु भयो। छोरी संस्थाले चार महिनाको अध्ययनपछि प्रस्तुत गरेको तथ्यांकले पालिकालाई थप सचेत बनाएको भन्दै नगर प्रमुख कुर्मीले बालबालिकाको शिक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बालबालिकालाई विद्यालयसम्म पु¥याउने, बालश्रम न्यूनीकरण गर्ने, बालविवाह रोक्ने तथा बालमैत्री वातावरण निर्माण गर्ने विषयलाई स्थानीय सरकारको प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

कार्यक्रममा बृन्दावन नगरपालिकाकी नगर उपप्रमुख संगिता रामले बालबालिकाको भविष्य निर्माणमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले बालबालिका र अभिभावकबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिँदै बालबालिकाका आवश्यकता समयमै पूरा गर्न अभिभावकले ध्यान दिनुपर्ने बताउनुभयो। बालबालिकालाई आवश्यक शैक्षिक सामग्री, संरक्षण र उचित मार्गदर्शन उपलब्ध गराउन सके उनीहरू गलत संगत तथा विभिन्न किसिमका लोभ–प्रलोभनमा पर्नबाट जोगिन सक्ने उहाँको भनाइ थियो।

उपप्रमुख रामले बालबालिकाको समस्या सुन्ने, उनीहरूको भावना बुझ्ने तथा उनीहरूलाई सुरक्षित वातावरण उपलब्ध गराउने जिम्मेवारी परिवारसँगै समुदाय, विद्यालय र स्थानीय सरकारको समेत रहेको बताउनुभयो। कार्यशालाबाट प्राप्त निष्कर्षले बृन्दावनमा बालबालिकाको अवस्था सुधारका लागि बहुआयामिक पहल आवश्यक रहेको देखाएको छ। विद्यालय बाहिर रहेका बालबालिकालाई पुनः विद्यालयमा ल्याउन आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग, शैक्षिक सामग्रीको उपलब्धता, विद्यालयमा बालमैत्री वातावरण निर्माण तथा शिक्षकबाट हुने हप्काइ र दण्डको अन्त्य आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

त्यसैगरी बालविवाह न्यूनीकरणका लागि अभिभावक तथा समुदायमा निरन्तर सचेतना, विद्यालयसँग बाल संरक्षण प्रणालीको समन्वय तथा जोखिममा रहेका बालबालिकाको पहिचान गरी समयमै सहयोग गर्नुपर्नेमा जोड दिइएको छ। बालश्रम रोक्न परिवारको आर्थिक अवस्था सुधार, बालबालिकालाई विद्यालयमा टिकाइराख्ने कार्यक्रम तथा जोखिमयुक्त क्षेत्रमा बालबालिकाको संलग्नता रोक्न प्रभावकारी निगरानी आवश्यक रहेको निष्कर्ष निकालिएको छ। कार्यक्रमको अन्त्यमा छोरी संस्थाकी उपाध्यक्ष तथा कार्यक्रमकी अध्यक्ष छाया देवकोटाले संस्थाले बाल अधिकार संरक्षणका क्षेत्रमा गर्दै आएको काम बारे जानकारी गराउँदै बालबालिकाका सवाललाई प्राथमिकतामा राखेर स्थानीय सरकार, अभिभावक, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

उहाँले अध्ययनबाट प्राप्त तथ्यांकलाई केवल प्रतिवेदनका रूपमा सीमित नराखी बालबालिकाको वास्तविक जीवनमा परिवर्तन ल्याउने गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो। सहभागीहरूले पनि बालबालिकाको शिक्षा, सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्न सबै पक्षले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

त्यसतै कार्यक्रममा बृन्दावन नगरपालिकाको कार्यपालिका सदस्य राजेश पासवान(निर्माणी), प्रशासन शाखा प्रमुख र विपद् व्यवस्थापन शाखा प्रमुख हरि प्रसाद दुलाल, महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मेनका यादब, रुपा नेपाली पाल बिधालयका शिक्षक बिरमंगल पाल, कक्षा १० मा पढने एक बिधार्थी, रामबाबु दास, योजना शाखा प्रमुख बिरेन्द्र प्रसाद यादब लगायतहरुले आ–आफ्नो मन्तब्य राख्नु भएको थिए ।

लेखकको बारेमा

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस