करदाता पुरस्कारको प्रभाव : बिल माग्ने उपभोक्ता बढे, व्यापारीविरुद्ध उजुरीको चाङ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ९, मंगलबार (५६ मिनेट अघि)
  • ४२ पटक पढिएको
करदाता पुरस्कारको प्रभाव : बिल माग्ने उपभोक्ता बढे, व्यापारीविरुद्ध उजुरीको चाङ

काठमाडौ, ०९ भदौ। सरकारले करदाता प्रोत्साहन पुरस्कार कार्यान्वयन सुरु गरेसँगै उपभोक्तामा बिलबिजक माग गर्नुपर्छ भन्ने जागरण ह्वात्तै बढेको तथ्यांकले देखाएको छ ।

सामान किनेको हरेक बिल सरकारी चिट्ठामा बदलिने र त्यसमार्फत १० लाखसम्म पुरस्कार पाउने भएपछि बिल नदिने व्यापारीमाथि उजुरीको चाङ लागिरहेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

उपहार घोषणाको एक महिनाको अनुभवमा उपभोक्तामा बिल लिनुपर्छ भन्ने अनुभूति ह्वात्तै बढेको विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशी बताउँछन् । तर, अझै पनि न्युरोड सहित मुख्य व्यापारिक केन्द्रमै व्यापारीले बिल दिन आनाकानी गरिरहेको गुनासो उपभोक्ताले उत्तिकै गरिरहेको उनले बताए ।

‘हेलो सरकारमा अहिले धेरैजसो गुनासो फलानो पसलले बिल दिन मानेन भन्ने नै छ,’ उनी भन्छन्, ‘यससँगै बजार अनुगमन बढाउनुपर्ने देखिएको छ ।’ विभागले त्यसको समेत तयारी गरिरहेको समेत उनले जानकारी दिए ।

‘आफूले सामान खरिद गरेपछि उपभोक्ताले सक्कल बिल पाउनु उपभोक्ताको अधिकार हो,’ उनले भने, ‘उपहार कार्यक्रम मार्फत हाम्रो उद्देश्य पनि बिल माग्न जागरण ल्याउनु हो ।’

तर, प्यानमा दर्ता भएर पसल चलाइरहेकै व्यापारीले सक्कल बिल दिन नमान्ने, आधिकारिक बिल नदिने गरेको गुनासो अत्यधिक आएको छ ।

विभागका अनुसार करदाता प्रोत्साहन पुरस्कार सुरु भएयता भ्याट, प्यानमा नयाँ दर्ता हुने प्रवृत्तिमा भने धेरै सुधार आएको छैन । उपत्यका सहित सहरी इलाकामा सञ्चालनमा रहेका धेरैजसो पसल तथा बिक्री केन्द्र करमा दर्ता भइसकेकाले त्यस्तो भएको उनी बताउँछन् ।

तर, दर्ता नै भएर चलाइरहेकै पसलले बिल दिन नमानेको भन्दै गुनासो बढेको हो । उपत्यका बाहिरबाट समेत यस्तै समस्या विभाग मातहत कार्यालयमा प्राप्त हुने गरेको छ ।

‘क्यूआरबाट रकम तिरेका उपभोक्तालाई समेत तिरेको रकम एउटा, बिल अर्को रकममा जारी भएको समेत देखियो,’ निर्देशक रघुवंशीले भने, ‘सबै कारोबार प्रणाली मार्फत ट्र्याक हुने भएकाले सबै व्यवसायी इमानदार हुन जरुरी छ ।’

प्रोत्साहन पुरस्कारमा सहभागिता संख्यामा उछाल

आन्तरिक राजस्व विभागको तथ्यांकले सुरुवाती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ता संख्यामा उछाल आएको देखाउँछ । सरकारले १ साउनदेखि सुरु गरेको यो कार्यक्रमका लागि पहिलो १५ दिनमा नगद कारोबारका बिल अपलोड संख्या ७ हजार ७७ थियो । साउन १६ देखि ३१ सम्म अवधिमा यो संख्या ह्वात्तै बढेर ३ लाख ५७ हजार १ सय ४९ पुगेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस