इजरायल पठाउने भन्दै रकम असुली, कांग्रेस नेता चौलागाईंमाथि ठगीको आरोप

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १३, मंगलबार (१४ घण्टा अघि)
  • ४० पटक पढिएको
इजरायल पठाउने भन्दै रकम असुली, कांग्रेस नेता चौलागाईंमाथि ठगीको आरोप

काठमाडौँ,१३ असोज। नेपालबाट इजरायल कामदारका रूपमा छनौटमा नपरेका मानिसहरूलाई पनि पठाइदिने नाममा ठगी गरेर पक्राउ परेका रामेछाप कांग्रेसका नेता भरत चौलागाईंले आफ्नै पार्टीका केही केन्द्रीय तहका नेतासम्मलाई ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार पक्राउ परेपछि चौलागाईं र पत्रकार बालिका शिवाकोटीबाट ठगीमा परेका अन्य व्यक्तिले पनि उजुरी गर्न थालेका छन् ।

नेपालबाट इजरायलमा केयर गिभरको लागि कामदार लैजाने भनी नेपाल सरकार र इजरायल सरकारबीच भएको जीटुजी सम्झौताबमोजिम छनौटमा नपरेका मानिसहरूलाई उनीहरूले इजरायल पठाउने भनी रकम लिएका थिए । त्यसरी लक्की ड्रमा नपरेकामध्ये १ सय ५६ जनासँग प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम संकलन गरिएको थियो ।

सबैसँग गरी २ करोड ५० लाख ठगी गरेको उजुरीका आधारमा रामेछाप जिल्ला सुनापति गाउँपालिका १ घर भएका वर्ष ५९ का चौलागाई र दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नं ८ घर भएकी वर्ष ३२ की सिवाकोटी पक्राउ परेका थिए ।

अनुसन्धानरत एक प्रहरीका अनुसार चौलागाईंले त्यसरी उठाएका सम्पूर्ण रकम प्रेमिकामार्फत व्यवस्थापन गरेका छन् । उनकी प्रेमिका पनि राजनीतिमा संलग्न रहेको खुलेको छ ।

पीडितहरूसँग रकम उठाउने जिम्मा भने पत्रकार शिवाकोटीलाई दिएका थिए । इजरायल जानका लागि पैसा दिनेमध्ये एकजना व्यक्ति शिवाकोटीकै आफन्त थिए । प्रहरीलाई शिवकोटीले बताएअनुसार आफ्नो मान्छेलाई इजरायल पठाउने उपायबारे सोधखोज गर्ने क्रममा चौलागाईंसँग भेट भएको थियो । उनले मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएरै पठाउने र त्यसका लागि प्रधानमन्त्रीको सचिवालयका मानिसहरूसँग नियमित कुराकानी भइरहेको भनेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका ती व्यक्तिलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ बुझाउनुपर्ने भन्दै उम्मेदवारहरूसँग प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम उठाइएको थियो ।

चौलागाईंले नै शिवाकोटीलाई मन्त्रिपरिषद् बैठकमा पेश गर्नका लागि तयार पारिएको टिप्पणीको एक प्रति आफ्नो हातमा परेको भन्दै देखाएका थिए । त्यही कागज देखाएर शिवाकोटीले इजरायल जान चाहनेहरूसँग पैसा उठाएकी थिइन् ।

तर, उक्त कागज नक्कली भएको प्रहरीले जनाएको छ । अनुसन्धानरत प्रहरीका अनुसार पत्रकार शिवाकोटीले आफ्नो मान्छेलाई इजरायल पठाउन पाइने, आफूलाई आर्थिक लाभ पनि हुने प्रलोभनमा परेर उक्त काम गरेकी थिइन् । पैसा दिनेमध्येका ४० जना व्यक्तिले शिवाकोटीसँग केही हप्तादेखि रकम फिर्ता मागिरहेका थिए । तर, उनले मन्त्रिपरिषद् बैठकमा पेश गर्न तयार पारिएको भनी नक्कली कागज देखाएर आफूलाई बचाउँदै आएकी थिइन् । पीडितहरूले उक्त कागज नक्कली भएको भन्दै आएका थिए ।

शिवाकोटीले पीडितको रकम फिर्ता नगरेपछि उनलाई पीडितहरूले केही समय नियन्त्रणमा लिए । ४० जना पीडितसँगै उनी केही दिन काठमाडौं उपत्यकाभित्रैका केही होटल र रिसोर्टमा बसेकी थिइन् । पीडितले त्यसरी नियन्त्रणमा लिएरै रकम फिर्ता मागेपछि चौलागाईंले पैसा लिएको भनेकी थिइन् । तर, चौलागाईंले आफूले रकम लिएको स्वीकारेनन् ।

‘जोसँग पैसा लिएको हो, उहीसँग माग्नुस्, मसँग छैन’, चौलागाईंले पीडितहरूलाई जवाफ दिएका थिए ।

अनुसन्धानरत प्रहरीका अनुसार चौलागाईंले नेपाली कांग्रेसको केन्द्रीयस्तरका केही नेताले लाखौँ रुपैयाँ ठगी गरेको भनी मौखिक उजुरी गरिसकेका छन् । उनीहरू आजभोलि नै लिखित जाहेरीसहित उपस्थित हुने तयारीमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस