
झापा,१६ असोज। पाँच सयका भारतीय नक्कली नोटसहित दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार बुधबार दमक नगरपालिका–६ स्थित देवकोटा चोकबाट बीआर ३७ जे २७०८ नम्बरको भारतीय मोटरसाइकलसहित दुई जनालाई नक्कली नोटसहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भारतको किसनगंज जिल्ला खनियाबाद–३, फतेहपुरका २५ वर्षीय अब्दुल माजिद र २६ वर्षीय रुवेद आलम रहेका छन्। उनीहरूबाट पाँच सय दरका ३५ हजार नक्कली भारतीय रूपैयाँ बरादम गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय दमकको टोलीले शंका लागेर सुरक्षा जाँच गर्दा अब्दुल माजिदसँग पाँच सय दरका ७० वटा नोट भेटिएको हो। नोटहरूमा अधिकांशको नम्बर दोहोरिएको पाइएपछि परीक्षणका लागि नेपाल राष्ट्र बैंक, विराटनगर पठाइएको थियो। परीक्षणका क्रममा सबै नोटहरू नक्कली भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध मुद्रासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। दुवै जनालाई हिरासतमा राख्न जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप भएको छ।
