गोली चलाएर नियन्त्रणमा लिइएका आयनमाथि २७ डाँकाचोरी मुद्दा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २२, बिहिबार (१२ घण्टा अघि)
  • ६० पटक पढिएको
गोली चलाएर नियन्त्रणमा लिइएका आयनमाथि २७ डाँकाचोरी मुद्दा

काठमाडौँ,२२ असोज।  काठमाडौँको जडीबुटीमा गोली प्रहार गरेर प्रहरीले नियन्त्रणमा लिएको लुटेरा समूहका नाइके आयन माझी २७ वटा डाँकाचोरी मुद्दामा संलग्न भएको भेटिएको छ । बुधबार राति प्रहरीले काठमाडौँ–३२ स्थित जडीबुटी पुलमुनि गोली प्रहार गरेर २४ वर्षीय माझीलाई नियन्त्रणमा लिएको थियो ।

उनी सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर–५ का स्थानीय हुन् । चोरी र डकैतीको नेतृत्व गर्दै आएका आयन २७ वटा अपराधमा संलग्न रहेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलिप घिमिरेले बताए ।

काठमाडौँ प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएको छ । नियन्त्रणमा लिन खोज्दा प्रहरी सहायक हवल्दार डम्बर बहादुर श्रेष्ठलाई खुकुरी प्रहार गर्न खोजेपछि आयनलाई गोली प्रहार गर्नुपरेको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।

माझीलाई नियन्त्रणमा लिन खोज्दा सुरुमा २ राउण्ड हवाई फायर र त्यसपछि घुँडामुनि गोली प्रहार गरिएको एसएसपी घिमिरेले बताए । उनले भने, ‘माझीको दायाँ खुट्टाको घुँडामुनि १ राउण्ड गोली लागेको छ ।’

आयनको समूहका अरु दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका घर भएर भक्तपुरको थिमी नगरपालिका–४ बस्ने राकेश थिङ र मनोज कुमार मोक्तान छन् ।

प्रहरीका अनुसार मोटरसाइकलमा चढेर उनीहरूले पैदल हिँडिरहेकाहरूको सुनको सिक्री लुटपाट गर्ने र विभिन्न ठाउँमा डाँकाचोरी गरेको भेटिएको छ । सो समूहले अहिलेसम्म १५ वाट मोटरसाइकल चोरेको भेटिएको एसएसपी घिमिरेले बताए । सिक्री लुट्न हिँड्दा मनोज कुमार मोक्तानले मोटरसाइकल चलाउने र राकेश पछाडि बस्ने गरेका थिए । उनीहरूलाई आयनले कमाण्ड गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

करिब ९ महिनाअघि पक्राउ गरिएको सिक्री डलर लुट्ने समूहसँग पनि आयन समूहको ‘नेक्सस’ देखिएको प्रहरीको भनाइ छ । त्यसबेला प्रहरीले पैदल हिँडेकाहरूलाई बाटो सोधेर सिक्री लुट्ने ‘अपराध प्रवृत्ति’ भएकाहरूलाई पक्राउ गरेको थियो ।

आयन समूहले बौद्ध र स्वयभु क्षेत्रमा लुट आतङ्क मच्चाएका थिए । आयन २०७७ मा डाँकाचोरी मुद्दामा पक्राउ परेर जेल बसेर छुटेका हुन् । उनीविरुद्ध २०७९ मा भक्तपुरबाट दुई वटा मुद्दा र इलाका प्रहरी कार्यालय बनेपा लगायतका प्रहरी युनिटमा २७ वटा कसुर दर्ता भएको भेटिएको छ ।

जेनजी आन्दोलन हुँदा लुटिएको हतियार खरिद गरेर आयन समूहले ठुलो डकैती गर्ने योजना बनाएको एसएसपी घिमिरेले बताए । उनले भने, ‘यो समूह पक्राउ परेपछि सो योजना विफल भएको छ ।’

असोज १४ मा बौद्ध गेटमा एक जनाबाट २ लाख रुपैयाँ लुटेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको सादा पोशाकको टोलीले लुटेराहरूको प्रोफाइलिङ गरेर अनुसन्धान थालेको थियो । पछिल्लो समय उनीहरूले बीवाइडी गाडीमा बसिरहेका एक जनाको सिक्री लुटेर भागेको भेटिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस