रौतहट नाई ट्रेड युनियन संघको पहिलो बैठक सम्पन्न, कपाल र दाह्री काट्ने शुल्क २०० रुपैयां निर्धारण

रौतहट नाई ट्रेड युनियन संघको पहिलो बैठक सम्पन्न, कपाल र दाह्री काट्ने शुल्क २०० रुपैयां निर्धारण

रमेश कुमार यादब
असोज २३, रौतहट
रौतहट नाई ट्रेड युनियन संघको पहिलो जिल्ला बैठक सम्पन्न भएको छ। जिल्ला अध्यक्ष भुषण ठाकुरको अध्यक्षतामा जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिकाको ऐतिहासिक पहिचानसँग जोडिएको श्रीराम सुगर मिल्स प्रा.लिको प्राङ्गणमा बसेको बैठकले नाई समुदायबीच एकता, संगठन सुदृढीकरण, पेसागत समस्या समाधान तथा कपाल र दाह्री काट्ने सेवाको मूल्य निर्धारणलगायतका विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकमा जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका नाई व्यवसायीहरूलाई संगठित गर्दै उनीहरूको हकहित संरक्षण गर्ने, पेसागत समस्याको सामूहिक समाधान खोज्ने तथा संघलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।
बैठकले नाई समुदायबीच आपसी एकता कायम गरी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने आवश्यकतामा जोड दिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष भुषण ठाकुरले नाई समुदायबीच एकताको अभावका कारण आफूहरूले विभिन्न समस्या भोग्नुपरेको बताए। समुदायका सदस्यहरू एकजुट हुन नसक्दा अरूले आफ्नो आवश्यकता र स्वार्थअनुसार प्रयोग गर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो।

उनले जिल्लाका विभिन्न पालिका, बजार तथा गाउँमा छरिएर रहेका सम्पूर्ण नाई व्यवसायीहरूलाई संघमा आबद्ध भई आ–आफ्नो क्षेत्रबाट प्रतिनिधित्व गर्न आग्रह गरे। कुनै एक नाई व्यवसायीमाथि समस्या वा अन्याय परेमा सबै जना एकजुट भएर आवाज उठाउनुपर्नेमा उनले जोड दिए। ‘नाई समुदायको हकहित संरक्षण गर्न र पेसागत समस्या समाधान गर्न एकता आवश्यक छ,’ अध्यक्ष ठाकुरको भनाइको सार थियो। उनले व्यक्तिगत रूपमा समस्या भोगिरहेका व्यवसायीलाई सामूहिक साथ र सहयोग उपलब्ध गराउन संघलाई सक्रिय बनाइने पनि बताए।

कपाल र दाह्री काट्ने शुल्क २०० रुपैयाँ निर्धारण
बैठकको अर्को महत्त्वपूर्ण निर्णयका रूपमा कपाल तथा दाह्री काट्ने सेवाको मूल्य निर्धारण गरिएको छ। नेपाल नाई ट्रेड युनियन संघको गरुडामा बसेको बैठकले कपाल र दाह्री काटेको शुल्क प्रतिव्यक्ति २०० रुपैयाँ लिने सहमति गरेको जनाइएको छ। नाई व्यवसायीहरूबीच सेवाको मूल्यमा एकरूपता कायम गर्ने, अस्वस्थ प्रतिस्पर्धा कम गर्ने तथा व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले मूल्य निर्धारण गरिएको बैठकमा सहभागीहरूले बताएका छन्। संघले बैठकबाट निर्धारण
गरिएको मूल्य सबै व्यवसायीले पालना गर्नुपर्ने जनाएको छ।

निर्धारित मूल्यभन्दा कम वा बढी रकम लिएको पाइएमा बैठकको निर्णय तथा संघको नियमअनुसार कारबाही गरिने जानकारी संघका सदस्य तथा शिवनगरस्थित वीरेन्द्र हेयर कटिङ सैलुनका सञ्चालक वीरेन्द्र ठाकुरले दिए। उनी मधेश रेडियो श्रोता संघका समर्थकसमेत हुन्। तर, निर्धारित शुल्क कार्यान्वयन गर्दा सेवाको प्रकृति, अतिरिक्त सेवाको अवस्था तथा ग्राहकलाई शुल्कबारे स्पष्ट जानकारी दिनुपर्ने विषय पनि व्यवसायलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण हुने देखिन्छ।

प्रत्येक महिनाको अन्तिम बिहीबार बैठक बस्ने निर्णय
संघको संगठनात्मक एकता बलियो बनाउने र आगामी दिनमा सदस्यहरूलाई आइपर्ने आपत्–विपत्मा सहयोग पु¥याउने उद्देश्यले प्रत्येक महिनाको अन्तिम बिहीबार नियमित बैठक बस्ने निर्णयसमेत गरिएको छ। जिल्ला कोषाध्यक्ष उपेन्द्र ठाकुरका अनुसार संघका सदस्यहरूले प्रत्येक महिनाको बैठकमा २०० रुपैयाँका दरले रकम जम्मा गर्ने निर्णय भएको छ। यसरी संकलन गरिएको रकमलाई संघको आवश्यकताअनुसार तथा सदस्यहरूलाई समस्या पर्दा सहयोग गर्ने उद्देश्यले परिचालन गर्ने योजना रहेको छ।उनका अनुसार नियमित बैठकले सदस्यहरूबीच आपसी सम्बन्ध मजबुत बनाउनुका साथै संगठनका गतिविधि, पेसागत समस्या र भावी योजना
बारे छलफल गर्ने अवसर प्रदान गर्नेछ ।

बैठकमा अनुपस्थित हुने सदस्यहरूलाई संघको नियमअनुसार कारबाही गरिने जानकारीसमेत दिइएको छ। नियमित बैठकमा सहभागिता जनाउनुपर्ने व्यवस्थाले सदस्यहरूलाई संगठनप्रति जिम्मेवार बनाउने र संघका निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नाई व्यवसायीको हकहित संरक्षणमा जोड
नाई व्यवसाय समाजको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण पेसा हो। तर, जिल्लाका विभिन्न स्थानमा व्यवसाय सञ्चालन गर्दै आएका नाईहरूले आपसी समन्वयको अभाव, पेसागत समस्या तथा व्यवसाय व्यवस्थापनका चुनौती सामना गर्नुपर्ने अवस्था रहेको बैठकमा चर्चा गरिएको थियो।यस्तो अवस्थामा नाई ट्रेड युनियन संघले व्यवसायीहरूलाई एउटै संगठनमा आबद्ध गराई उनीहरूको समस्या पहिचान गर्ने, आवश्यक सहयोग जुटाउने तथा पेसागत हकहितका विषयमा सामूहिक पहल गर्ने अपेक्षा गरिएको छ।

संघले आगामी दिनमा जिल्लाका सबै स्थानीय तहमा रहेका नाई व्यवसायीहरूलाई संगठित गर्दै संगठनको पहुँच विस्तार गर्ने, नियमित बैठक सञ्चालन गर्ने र सदस्यहरूबीच सहयोगको भावना विकास गर्ने लक्ष्य लिएको छ।बैठकमा संघका सचिव लखिन्द्र ठाकुर, सहसचिव संजय ठाकुर, नगर अध्यक्ष सुरेश ठाकुर, नगर कोषाध्यक्ष मनोज ठाकुर, सहसचिव बृज ठाकुरलगायत जिल्लाका विभिन्न स्थानबाट आएका दर्जनौँ नाई व्यवसायीहरूको सहभागिता रहेको थियो।बैठकले गरेका निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेमा जिल्लाका नाई व्यवसायीहरूबीच एकता बढ्नुका साथै पेसागत समस्या समाधान, व्यवसायको व्यवस्थापन र आपसी सहयोग विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस