बानेश्वरनाथ झोलुङ्गे पुल जीर्ण बन्दै, स्थानीय चिन्तित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २२, बिहिबार (११ घण्टा अघि)
  • ५० पटक पढिएको
बानेश्वरनाथ झोलुङ्गे पुल जीर्ण बन्दै, स्थानीय चिन्तित

रौतहट,२२ असोज। रौतहटको सदरमुकाम गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमाथिको बानेश्वरनाथ झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सर्वसाधारणको आवागमन जोखिमपूर्ण बनेको भन्दै स्थानीयले तत्काल मर्मतसम्भार गर्न माग गरेका छन्।

गौरस्थित महादेव मन्दिरबाट केही मिटर पश्चिमतर्फ रहेको उक्त झोलुङ्गे पुल मधेश प्रदेशकै लामो झोलुङ्गे पुलमध्ये एकका रूपमा परिचित छ। पुल सञ्चालनमा आएपछि गौर र ईशनाथ क्षेत्रका सर्वसाधारणका साथै पैदल यात्रु, साइकल तथा मोटरसाइकल चालकका लागि महत्वपूर्ण आवागमन मार्ग बनेको छ।

तर पछिल्लो समय पुलमा प्रयोग गरिएका फलामे जाली, नट–बोल्ट तथा भार थेग्ने मुख्य फलामे तारहरू कमजोर हुँदै गएको स्थानीयको गुनासो छ। पुलका विभिन्न स्थानमा फलामे तार नट–बोल्टबाट छुट्टिएर झुन्डिएको तथा कतिपय संरचना ढिलो भएको देखिने उनीहरूको भनाइ छ।

स्थानीयका अनुसार पुलका दुवैतर्फ भार थेग्ने मुख्य फलामे तारसमेत विभिन्न स्थानमा खुल्ने र ढिलो हुने समस्या देखिएको छ। समयमै प्राविधिक परीक्षण तथा मर्मतसम्भार नगरिए भविष्यमा दुर्घटनाको जोखिम बढ्न सक्ने उनीहरूको चिन्ता छ।

गौर–ईशनाथ जोड्ने टिकुलियाघाटस्थित पक्की पुल लामो समयदेखि निर्माण सम्पन्न हुन नसकिरहेको अवस्थामा बानेश्वरनाथ झोलुङ्गे पुल स्थानीयका लागि महत्वपूर्ण आवागमनको माध्यम बनेको छ।

दैनिक ठूलो संख्यामा पैदल यात्रु तथा सयौँ साइकल र मोटरसाइकल यही पुलबाट आवतजावत गर्ने गरेको स्थानीय बताउँछन्। पछिल्लो समय पुल पर्यटकीय गन्तव्यका रूपमा समेत विकसित हुँदै गएको उनीहरूको भनाइ छ।

पुलमा फोटो तथा भिडियो खिच्न आउने युवादेखि सर्वसाधारणसम्मको चहलपहल बढेको छ। पुल आसपास विभिन्न पसल तथा व्यवसाय सञ्चालनमा आउँदा स्थानीय युवाले रोजगारी तथा आम्दानीको अवसरसमेत पाएको स्थानीयको भनाइ छ।

पुलको नियमित मर्मतसम्भारमा पर्याप्त ध्यान नदिइएको भन्दै स्थानीयले सम्बन्धित निकायप्रति प्रश्न उठाएका छन्। उनीहरूले पुलको मर्मतसम्भारका लागि आउने बजेट, खर्चको अवस्था तथा नियमित मर्मतको जिम्मेवारी कसको हो भन्ने विषय सार्वजनिक गर्न माग गरेका छन्।

स्थानीयले पुलको तत्काल प्राविधिक परीक्षण गरी कमजोर भएका जाली, नट–बोल्ट तथा फलामे तार मर्मत गर्नुपर्ने बताएका छन्।

बानेश्वरनाथ झोलुङ्गे पुल २०८० वैशाख ७ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए। पुल निर्माणपछि गौर र ईशनाथ क्षेत्रका नागरिकलाई सदरमुकाम गौरसम्म आवतजावत गर्न थप सहज भएको थियो।

स्थानीयले सम्भावित दुर्घटना भएपछि मात्रै मर्मत गर्ने प्रवृत्तिको अन्त्य गरी तत्काल प्राविधिक टोली खटाएर पुलको सम्पूर्ण संरचनाको निरीक्षण गर्न माग गरेका छन्।

दैनिक ठूलो संख्यामा नागरिकको आवागमन हुने तथा गौरको पर्यटकीय पहिचानसँग समेत जोडिएको पुलको सुरक्षा व्यवस्थापनमा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने स्थानीयको माग छ।

ताजा अपडेट

खोजी गर्नुहोस