
महोत्तरी,२३ असोज। महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा विवेक सरदारको हत्या भएको घटनामा जिल्ला अदालत महोत्तरीले तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न र एक जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतको आदेशपछि चारै जनालाई कारागार चलान गरिएको छ।
जिल्ला अदालतका न्यायाधीश सञ्जिव पोखरेलको इजलासले बलवा नगरपालिका–७ बनौटाका अशोक ठाकुर, उनकी बुहारी सोनु ठाकुर र महोत्तरी गाउँपालिका–५ का सियाराम ठाकुरलाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको हो। अशोककी श्रीमती रामकली देवीलाई भने दुई लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको थियो।
मृतक विवेकका बुबा अशोककुमार बातर सरदारले दिएको जाहेरीका आधारमा दर्ता भएको कर्तव्यज्यान मुद्दामा अदालतले उक्त आदेश गरेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी विश्वम्भरनाथ साहका अनुसार धरौटी रकम बुझाउन नसकेपछि रामकली देवीसमेत चारै जनालाई बिहीबार साँझ कारागार चलान गरिएको छ।
गत भदौ २६ गते बलवा नगरपालिका–७ बनौटास्थित अशोक ठाकुरको घरको शौचालयको सेफ्टी ट्यांकीबाट २४ वर्षीय विवेक सरदारको शव फेला परेको थियो। महोत्तरीको भंगहा नगरपालिका–६ निवासी विवेकको शव टुक्राटुक्रा अवस्थामा भेटिएपछि घटनाले गम्भीर रूप लिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार विवेक र सोनु ठाकुरबीच प्रेम सम्बन्ध रहेको खुलेपछि उनलाई भदौ १५ गते मध्याह्नतिर घरमा बोलाएर हत्या गरिएको आशंका गरिएको थियो। अनुसन्धानका क्रममा हत्या गरेपछि शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्यांकीमा राखिएको र माथिबाट प्लास्टर गरिएको विवरण सार्वजनिक भएको थियो। घटनाको रहस्य भने खोजतलास सुरु भएको ११ दिनपछि खुलेको थियो।
प्रहरी अनुसन्धानमा घटनाको योजनामा विदेशमा रहेका सोनुका श्रीमान् जितेन्द्र ठाकुरको समेत संलग्नता रहेको आशंका गरिएको छ। उनी विदेशबाट गुपचुप नेपाल आएको र घटनापछि फरार रहेको विवरण सार्वजनिक भएको छ। उनीमाथिको आरोप तथा घटनामा उनको भूमिकाबारे भने अनुसन्धान र कानुनी प्रक्रियाबाटै थप पुष्टि हुन बाँकी छ।
