बारा घटनाको सत्यतथ्य पत्ता लगाउन एसएसपी नेतृत्वको समिति गठन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १७, सोमबार (२ घण्टा अघि)
  • ३५ पटक पढिएको
बारा घटनाको सत्यतथ्य पत्ता लगाउन एसएसपी नेतृत्वको समिति गठन

बारा ,१६ कात्तिक। बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएपछि सो घटनाको छानबिन गर्नका लागि मधेश प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ ।

सो समितिले आइतबारबाट नै काम थालिसकेको छ । यस घटनामा बिना आदेश प्रहरीले गोली चलाएको जिल्ला प्रशासन कार्यालय बाराको बुझाइ रहेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक -एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ ।

सो समितिमा एसपी भुवनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादवसमेत रहेका छन् । रास्वपा र एमालेका कार्यकर्ताबीच अस्पताल उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच भएको विवादले उग्ररुप लिएपछि झडप भएको थियो ।

सो झडपका क्रममा प्रहरीको गोली लागेर स्थानीय युवक आदित्य पासवान गम्भीर घाइते भएका छन् । झडपमा ढुंगामुढा हुँदा पाँच प्रहरी र केही स्थानीय घाइते भएका छन् ।

प्रदर्शनकारीले कर्मचारीलगायतका १० वटा मोटरसाइकल जलाएका छन् । विवादबीच स्थानीयले नवनिर्मित अस्पतालको शिलालेख र कार्यक्रमस्थलको टेन्टसमेत तोडफोड गरेका थिए । बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले घटना रोक्न विभिन्न उपाय अपनाउनुपर्नेमा प्रहरीले बिना आदेश गोली नै चलाउनु दुःखद भएको बताए ।

उनले भने, ‘यो घटनाको छानबिन हुन्छ, घटनास्थलको अवस्था नियन्त्रणमा लिने क्रममा न सिडिओ, न एसपीसँग आदेश लिएको छ ? किन र कसको आदेशमा गोली चलायो भन्ने छानबिन हुनु जरुरी छ ।’ बारा प्रहरीले हवाई फायर गरेको बताए पनि पासवानको शरीरको पछाडिको भागमा गोली लागेपछि प्रजिअ अधिकारी आक्रोशित छन् ।

कार्यक्रमस्थलमा खटिएका इलाका प्रहरी कार्यालय प्रसौनीका इन्चार्ज प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाइ जिल्ला तानिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा घाइते स्थानीयले प्रनि लामाकै कारण झडपको घटनाले उग्ररूप लिएको आरोप लगाएका थिए । उनी २५ जनाको टोलीको कमान्ड गर्दै कार्यक्रमस्थलमा शुरुदेखि नै थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस