स्थानीय तहलाई भूमि प्रशासनको अधिकार पूर्ण रूपमा प्रयोग गर्न प्रधानमन्त्रीको जोड

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १७, सोमबार (४० मिनेट अघि)
  • ५६ पटक पढिएको
स्थानीय तहलाई भूमि प्रशासनको अधिकार पूर्ण रूपमा प्रयोग गर्न प्रधानमन्त्रीको जोड

काठमाडौं ,१६ कात्तिक। प्रधानमन्त्री बालेन शाहले स्थानीय तहले भूमि प्रशासनसम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकारको पूर्ण प्रयोग गर्न पाउने बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको बताएका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म राज्य र नागरिकबीचको दूरी घटाउनु रहेको उल्लेख गरेका छन् । राज्यका सेवा सुविधा लिन नागरिक टाढाका कार्यालयसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै आवश्यक कार्यालय र सेवा नागरिकसम्म पुर्‍याउनु यसको लक्ष्य रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री शाहका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको अभिन्न अंगका रूपमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने लक्ष्य राखिएको छ ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ का व्यवस्थाबमोजिम भूमि प्रशासनका सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको उनले बताएका छन् । उनका अनुसार हालसम्म ३३ वटा स्थानीय तहबाट उक्त सेवा सफलतापूर्वक सञ्चालन भइरहेको छ ।

बाँकी रहेका सम्पूर्ण स्थानीय तहबाट समेत आगामी एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । यसका लागि स्थानीय तहलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनले बताएका छन् ।

सरकारको यस पहलबाट स्थानीय तहले भूमि प्रशासनसम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकारको पूर्ण प्रयोग गर्न पाउने र नागरिकले जग्गासम्बन्धी सेवा थप सरल तथा सहज रूपमा प्राप्त गर्ने प्रधानमन्त्री शाहको विश्वास छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस