१८ करोडको आरोपले कांग्रेसभित्र विवाद, देउवा र विश्वप्रकाश आमनेसामने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक २४, सोमबार (६ घण्टा अघि)
  • ३९ पटक पढिएको
१८ करोडको आरोपले कांग्रेसभित्र विवाद, देउवा र विश्वप्रकाश आमनेसामने

काठमाडौँ ,२३ कात्तिक। नेपाली कांग्रेसको आधिकारिकता विवादसँग जोडेर सभापति गगन थापामाथि १८ करोड रुपैयाँ आर्थिक चलखेल गरेको आरोप लागेपछि पार्टीभित्र आरोप–प्रत्यारोप चर्किएको छ।

प्रहरी हिरासतमा रहेका विवादास्पद बिचौलिया इनाम सापकोटाको भनिएको बयानको अडियो सार्वजनिक भएपछि कांग्रेसका संस्थापन र इतर समूहका नेताहरू सार्वजनिक मञ्चबाटै एकअर्काको प्रतिवादमा उत्रिएका छन्।

गत सोमबार सार्वजनिक भएको उक्त अडियोमा सापकोटाले कांग्रेसको आधिकारिकता आफ्नो पक्षमा पार्न सभापति थापाले १८ करोड रुपैयाँको आर्थिक चलखेल गरेको दाबी गरेको सुनिन्छ। यद्यपि, सार्वजनिक अडियोको आधिकारिकता र त्यसमा गरिएको दाबीको सत्यता स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।

अडियो सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले शनिबार राष्ट्रिय सभागृहमा आयोजित जिल्ला अधिवेशनको उद्घाटन समारोहमा यस विषयमा टिप्पणी गरे। उनले १८ करोड रुपैयाँको प्रसंग उठाउँदै पार्टी पैसाको बलमा किनबेच हुन नहुने धारणा राखे।

‘इनाम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ?’ भन्दै देउवाले प्रश्न गरे, ‘त्यो पैसा दिएर पार्टी किनिदियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’

देउवाले कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोगसम्म पुगेको प्रसंगसमेत उठाए। त्यसक्रममा उनले तत्कालीन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले आफ्नो ज्यानलाई खतरा रहेको कारण निर्णय गरेको भन्ने समाचार आफूले सञ्चारमाध्यमबाट थाहा पाएको बताए।

उनले निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै उक्त घटनामा आर्थिक लेनदेन भएको हुन सक्ने आशंकासमेत व्यक्त गरे।

यसको प्रतिवाद गर्दै कांग्रेसका नवनिर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको नेतृत्वलाई आर्थिक लेनदेनसँग जोडेर गरिएको प्रचारको खण्डन गरेका छन्।

शनिबार नै काभ्रेको बनेपामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको ‘नेपाली कांग्रेसको बदलिएको सोच र कार्यशैली’ विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै शर्माले प्रमाणबिना लगाइएका आरोपको पछि नलाग्न आग्रह गरे।

उनले विशेष महाधिवेशन र त्यसबाट स्थापित नेतृत्व विधि, विधान तथा प्रक्रियाअनुसार आएको दाबी गरे। आर्थिक चलखेलको आरोपको विश्वसनीयतामाथि प्रश्न उठाउँदै शर्माले गगन थापा र आफूले करोडौँ रुपैयाँ बुझाउन सक्ने आर्थिक हैसियत राख्छन् कि राख्दैनन् भन्ने प्रश्नसमेत उठाए।

‘एकपटक केवल स्वास्थ्य मन्त्री आठ–नौ महिना भएको गगन थापा र जिन्दगीमा मन्त्री कहिल्यै नबनेको, सांसद मात्रै बनेको विश्वप्रकाश शर्मा । करोडौँ–करोड बुझाउनुपर्‍यो भने हामी दुई भाइले बुझाउन सकौँला कि ? वर्षौंसम्म पटकपटक सत्तामा बसेका नेताहरू त उहाँहरूले बुझाउन सक्ने होइन र ?’ शर्माले प्रश्न गरे।

उनले कुनै व्यक्तिले लगाएको आरोप मात्रैका आधारमा त्यसलाई कानुनी प्रमाण मान्न नसकिने भन्दै सामाजिक सञ्जालमा फैलिएका अपुष्ट दाबीको पछि नलाग्न पनि आग्रह गरे।

कांग्रेसको आधिकारिकता विवाद गत पुसमा विशेष महाधिवेशन भएपछि थप चर्किएको थियो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले गत माघ २ गते अध्यावधिक गरेको थियो।

आयोगको उक्त निर्णयपछि देउवा पार्टी नेतृत्वबाट बाहिरिएका थिए। त्यसपछि देउवा पक्षले उक्त निर्णयलाई चुनौती दिँदै समानान्तर गतिविधि अघि बढाउँदै आएको छ।

विशेष महाधिवेशनबाट आएको नेतृत्वले गत असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरी गगन थापाको सभापतित्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरिसकेको छ। तर, देउवासहितका नेताहरू उक्त महाधिवेशनमा सहभागी भएका थिएनन्।

अहिले देउवा पक्षले पार्टीका तल्ला तहमा अधिवेशनका गतिविधि अघि बढाइरहेको छ भने संस्थापन पक्षले नयाँ नेतृत्वलाई वैधानिक मानेर संगठनात्मक गतिविधि सञ्चालन गरिरहेको छ।

यसरी १८ करोड रुपैयाँको आर्थिक चलखेलसम्बन्धी अपुष्ट अडियो सार्वजनिक भएपछि कांग्रेसभित्रको पुरानो शक्ति संघर्ष फेरि सतहमा आएको छ। अडियोको सत्यता, आरोपको आधार र आधिकारिकता विवादको वास्तविकताबारे सम्बन्धित निकायबाट स्पष्टता आउन बाँकी छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस