
रौतहट,२५ कात्तिक। रौतहटको गौरमा लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले युवाहरूको सक्रिय सहभागितामा भव्य र्याली तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
जेन-जी युवा क्लब रौतहटको आयोजनामा तथा रौतहट जेन-जीको सहयोगमा आयोजित र्याली गौरस्थित बिपी चोक (घण्टाघर चोक) बाट सुरु भई प्रहरी चौकी, फरेन गेट र भन्सार क्षेत्रको परिक्रमा गर्दै पुनः बिपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रमको सभापतित्व सन्दीप जसवालले गरेका थिए । कार्यक्रममा सामाजिक अभियन्ता सन्तोष पौडेलसहित विभिन्न युवा, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कोणसभामा शैलेन्द्र यादव, श्याम साह, अभिषेक राम, सुबोध पासवान, ललन शाह, पिन्टु, ममता यादव तथा सन्तोष पौडेललगायतले लागूऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे धारणा राखेका थिए ।
वक्ताहरूले पछिल्लो समय युवापुस्ता लागूऔषध दुर्व्यसनको जोखिममा पर्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसको नियन्त्रण र न्यूनीकरणका लागि परिवार, समाज तथा सम्बन्धित निकाय सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका संयोजक शैलेन्द्र यादवका अनुसार युवाहरूलाई लागूऔषध दुर्व्यसनबाट टाढा राख्ने, कुलतविरुद्ध जनचेतना फैलाउने तथा स्वस्थ, सभ्य र सकारात्मक समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिताले लागूऔषधविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको थियो ।
लागूऔषध दुर्व्यसन व्यक्तिगत समस्या मात्र नभई समग्र समाजकै चुनौती भएकाले यसको रोकथामका लागि युवाहरू स्वयं जागरूक हुनुपर्ने र समाजका सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने सन्देश कार्यक्रमले दिएको छ ।

