
काठमाडौँ,११ मंसिर। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा करिब ४५ मिनेट भएको भेटवार्तामा सरकारले जारी गर्न सिफारिस गरेका तर राष्ट्रपति पौडेलले जारी नगरेका अध्यादेशबारे छलफल भएको हो ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को बैठकले कात्तिक १७ गते सिफारिस गरेको प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र मन्त्रिपरिषद्को मङ्सिर ४ गतेको बैठकले ‘जेनजी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ जारी गरेका छैनन् ।
ती ३ अध्यादेश के कारणले रोकिएका हुन् भन्नेबारे बुझ्न र अध्यादेश ल्याउनु पर्नाको कारणबारे राष्ट्रपति पौडेललाई प्रस्ट पार्न सभापति लामिछाने राष्ट्रपति कार्यालय पुगेका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाह र सभापति लामिछानेबिच बिहीबार लामो छलफल भएको थियो । त्यो छलफलपछि सभापति लामिछाने राष्ट्रपति पौडेललाई भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रधानमन्त्री शाहले यही मङ्सिर ६ र ७ गते गरेको राजकीय भ्रमणबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराउन गएका थिएनन् । त्यो बारे पनि सभापति लामिछानेले राष्ट्रपतिलाई जानकारी गराएका छन् ।
राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले नभेटेको लामो समय भयो । औपचारिक कार्यक्रमबाहेक शाह राष्ट्रपति पौडेललाई भेट्न पुगेको अहिलेसम्म सार्वजनिक भएको छैन । त्यही भएर प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई ब्रिफिङ गर्ने, सभापति लामिछानेले राष्ट्रपति पौडेललाई ब्रिफिङ गर्ने चल्दै आएको छ ।
विगतका प्रधानमन्त्रीहरूले संसद् बैठक आह्वान गर्दा, स्थगित गर्दा विदेश भ्रमणमा जाँदा आफै राष्ट्रपति कार्यालयमा उपस्थित भएर जानकारी गराउँथे । तर, प्रधानमन्त्री शाहले त्यो परम्परा तोडेका छन् । उनी न संसद् आह्वान र स्थगित गर्दा राष्ट्रपतिलाई जानकारी गराउन गए, न विदेश भ्रमणमा जाँदा र फर्केपछि राष्ट्रपतिलाई भेट्न पुगे ।
राष्ट्रपतिले जारी नगरेको प्रेस काउन्सिल अध्यादेश जारी नगर्न सरोकारवाला निकाय नेपाल पत्रकार महासंघले राष्ट्रपतिलाई भेटेर लिखित आग्रह गरिसकेको छ ।
