आईटीपी रोगबाट पीडित पत्नीको उपचारका लागि गरुडाका ईनरदेव सहनीद्वारा आर्थिक सहयोगको अपिल

  • / अटो /
  • २०८३ अषाढ ११, बिहिबार (१ घण्टा अघि)
  • ८० पटक पढिएको
आईटीपी रोगबाट पीडित पत्नीको उपचारका लागि गरुडाका ईनरदेव सहनीद्वारा आर्थिक सहयोगको अपिल

रौतहट, ११ असार । रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी निवासी ईनरदेव सहनी (अनिश) ले आफ्नी गम्भीर बिरामी पत्नीको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन्। उनकी ३० वर्षीया पत्नी पूजा देवी लामो समयदेखि दुर्लभ रक्तसम्बन्धी रोग आईटीपी (इडियोप्याथिक थ्रोम्बोसाइटोपेनिक पर्पुरा) बाट पीडित रहेकी छन्।

विगत केही वर्षदेखि उक्त रोगसँग संघर्ष गरिरहेकी पूजा देवीको उपचारका लागि परिवारले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आएको भए पनि अपेक्षित सुधार हुन नसकेको उनका पति ईनरदेव सहनीले बताएका छन्।

सहनीका अनुसार उपचारका क्रममा नेपालस्थित वीरगञ्जको नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, भरतपुर अस्पताल, काठमाडौंको सिभिल अस्पताल तथा नेपाल मेडिकल कलेज लगायतका स्वास्थ्य संस्थामा उपचार गराइएको थियो। त्यसैगरी भारतको पटना स्थित पीएमसीएच, इन्दिरा गान्धी अस्पताल, मुजफ्फरपुरको प्रशान्त मेमोरियल अस्पताल, चण्डीगढ तथा नयाँदिल्लीस्थित एम्स अस्पतालमा समेत उपचार गराइएको उनले जानकारी दिए।

पत्नीको जीवन बचाउन आफूले भएको सम्पूर्ण सम्पत्ति खर्च गरिसकेको सहनी बताउँछन्। “उपचारका लागि हामीसँग भएको करिब १५ कठ्ठा जग्गा बेचिसकेका छौं। घरपालुवा पशुचौपाया पनि बेचेर उपचारमा खर्च गर्यौं। अहिले बसोबास गर्ने घरबाहेक अरू कुनै सम्पत्ति बाँकी छैन,” उनले भावुक हुँदै भने।

उनका अनुसार अहिलेसम्म विभिन्न अस्पतालमा उपचार गराउँदा करिब ३५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। तर रोग पूर्ण रूपमा निको नभएकाले थप उपचार आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्।

दिल्लीस्थित एम्स अस्पतालका चिकित्सकहरूले पूजा देवीको स्वास्थ्य अवस्था सुधार गर्न बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने सुझाव दिएका छन्। उक्त उपचारका लागि करिब ६० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। आर्थिक अवस्था अत्यन्त कमजोर बनेपछि परिवारले उपचार खर्च जुटाउन सर्वसाधारण, समाजसेवी, संघसंस्था तथा सहयोगी मनहरूसँग सहयोगको अपिल गरेको छ।

“हामीले सक्दो प्रयास गरिसक्यौं। अब थप उपचारका लागि आवश्यक रकम जुटाउन असम्भव जस्तै भएको छ। श्रीमतीको जीवन बचाउन सबैसँग सहयोगको याचना गर्दछु,” सहनीले भने।

आईटीपी एक दुर्लभ रोग हो, जसमा शरीरमा प्लेटलेट्सको मात्रा अत्यधिक घट्ने गर्दछ। चिकित्सकहरूका अनुसार यो रोग लाखौं मानिसमध्ये थोरैलाई मात्र देखिने गर्दछ र समयमै उपचार नभए ज्यानसमेत जोखिममा पर्न सक्छ।

आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिहरूका लागि ईनरदेव सहनीले आफ्नो ई–सेवा क्यूआर कोड सार्वजनिक गरेका छन्। साथै थप जानकारी तथा सहयोगका लागि ९८४५१३५७९२ र ९८२५२९१७६१ नम्बरमा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।

स्थानीयवासी तथा विभिन्न सामाजिक संघसंस्थाले समेत पूजा देवीको उपचारका लागि सहयोग जुटाउन पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। कठिन परिस्थितिमा रहेको सहनी परिवारले मानवताका आधारमा सहयोग गरिदिन सबैमा आग्रह गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस