गरिबीको झुपडीबाट नेपाली क्रिकेटको भविष्य बन्दै रौतहटका १६ वर्षीय राहुल यादव, एनपिएलमा चम्किंदै

गरिबीको झुपडीबाट नेपाली क्रिकेटको भविष्य बन्दै रौतहटका १६ वर्षीय राहुल यादव, एनपिएलमा चम्किंदै

रमेश कुमार यादब
कार्तिक २०, रौतहट
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको जारी तेस्रो संस्करणमा अहिले एउटा नामले क्रिकेटप्रेमीको विशेष ध्यान खिचिरहेको छ– राहुल यादव। सामान्य परिवारमा जन्मिएर अनेकौँ अभाव र चुनौतीबीच क्रिकेटमा आफ्नो प्रतिभा देखाइरहेका रौतहटका १६ वर्षीय राहुल अहिले नेपाली क्रिकेटका उदाउँदा प्रतिभाका रूपमा चर्चामा छन्। काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा
जारी एनपिएलमा जनकपुर बोल्ट्सबाट खेलिरहेका राहुलको धारिलो बलिङ र उत्कृष्ट प्रदर्शनले क्रिकेट समर्थकदेखि पूर्वक्रिकेटरसम्मको ध्यान आकर्षित गरेको छ।

उनको खेलबाट प्रभावित भएर धेरैले उनलाई ‘नेपाली क्रिकेटको भविष्य’ अर्थात् ‘फ्युचर अफ नेपाली क्रिकेट’ भन्न थालेका छन्।
राष्ट्रिय टोलीबाट लामो समयदेखि खेल्दै आएका अनुभवी बलरहरूसँग प्रतिस्पर्धा गर्दै राहुलले देखाएको आत्मविश्वास, बलिङमा रहेको धार र विकेट लिन सक्ने क्षमताले उनको सम्भावनालाई थप उजागर गरेको छ। सीमित स्रोतसाधन र कठिन पारिवारिक परिस्थितिबीच क्रिकेटमा अघि बढिरहेका राहुलको सफलताले अहिले रौतहट मात्र होइन, समग्र मधेश प्रदेशलाई नै उत्साहित बनाएको छ।

सामान्य परिवारबाट राष्ट्रिय चर्चासम्मको यात्रा
राहुल रौतहटको बौधीमाई नगरपालिका–१, अजगैवी गाउँका स्थायी बासिन्दा हुन्। उनको पारिवारिक आर्थिक अवस्था निकै कमजोर छ। गाउँमा बाँसको बेराघेरा र टायलले छाएको एउटा पुरानो तथा जीर्ण कच्ची घर नै उनको परिवारको मुख्य आश्रयस्थल हो। राहुलका बुवा वीरबहादुर यादव र आमा पनापति देवी खेतीकिसानी गरेर परिवारको गुजारा चलाउँदै आउनुभएको छ। परिवारसँग गाउँमै करिब १२ कट्ठा जग्गा र एउटा कच्ची घर रहेको छ।

आर्थिक अवस्था कमजोर भए पनि छोराको क्रिकेटप्रतिको लगाव र मेहनतलाई परिवारले निरन्तर साथ दिँदै आएको छ। परिवारमा राहुलका जेठा दाइ कमलेश यादव रुपन्देहीमा स्वास्थ्यकर्मीका रूपमा कार्यरत हुनुहुन्छ भने दिदी सकुन्तला यादवको विवाह भइसकेको छ। हाल घरमा राहुल आफ्ना बुवाआमासँगै बस्दै आएका छन्।

कक्षा ९ मा अध्ययनरत राहुलले विगत चार वर्षदेखि रौतहटमा आयोजना हुने विभिन्न स्थानीय तथा जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्। सानै उमेरदेखि क्रिकेटप्रति विशेष रुचि राख्ने उनले स्थानीय प्रतियोगितामार्फत आफ्नो प्रतिभा निखार्दै अघि बढेका हुन्।

जीर्ण घरमा सजिएका सिल्ड र मेडल, परिवारमा छाएको खुसी

राहुलको घर बाहिरबाट हेर्दा सामान्य र जीर्ण देखिए पनि भित्र प्रवेश गर्दा उनले विभिन्न क्रिकेट प्रतियोगितामा प्राप्त गरेका सिल्ड, मेडल र प्रमाणपत्रहरू देख्न सकिन्छ। आर्थिक अभावले भरिएको त्यही सानो घरमा राहुलको मेहनत र सफलताका प्रमाणहरू सजिएका छन्।कुनै समय क्रिकेट खेल्न आवश्यक सामग्री जुटाउनसमेत कठिन हुने परिवारका लागि अहिले छोराले राष्ट्रियस्तरको प्रतियोगितामा प्रदर्शन गरेको खेल ठूलो उपलब्धि बनेको छ। एनपिएलमा राहुलले देखाएको खेल कौशलपछि उनको परिवारको घरमा खुसीको माहोल छाएको छ।

राहुलका बुवा वीरबहादुर यादवले सुरुमा छोराको क्रिकेटप्रतिको अत्यधिक रुचि देख्दा चिन्ता लाग्ने गरेको बताउनुभयो। कमजोर आर्थिक अवस्थाका कारण छोराले चाहेजस्तो क्रिकेट खेल्न आवश्यक सहयोग गर्न नसकेको उहाँको भनाइ छ।उहाँले भन्नुभयो, “हाम्रो आर्थिक स्थिति कमजोर भएकाले उसले भनेजस्तो क्रिकेट खेल्न सहयोग गर्न सकिएको थिएन।

जग्गा बेचेर भए पनि क्रिकेट खेल्छु भन्दा बिग्रने हो कि भन्ने चिन्ता लाग्थ्यो। तर आज उसले जुन किसिमले राम्रो खेल प्रदर्शन गरेर प्रशंसा बटुलिरहेको छ, त्यसबाट हामी असाध्यै खुसी छौँ।” बुवाका अनुसार एनपिएलमा राहुलको प्रदर्शन सार्वजनिक भएपछि उनको घरमा पुगेर अवस्था बुझ्ने, भेटघाट गर्ने र शुभकामना दिने मानिसहरूको सङ्ख्या बढ्दै गएको छ। यसअघि छोराको क्रिकेट भविष्यलाई लिएर चिन्तित रहने परिवार अहिले उनको सफलताप्रति गर्व गरिरहेको छ।

गाउँसम्म पुग्ने सडकसमेत दयनीय, प्रतिभाले भने जित्यो सबैको मन

राहुलको सफलता जति चर्चामा छ, उनको गाउँ र घरसम्म पुग्ने भौतिक पूर्वाधारको अवस्था भने त्यति नै दयनीय छ। गौर–गरुडा सडकखण्डको जयनगर चोकबाट करिब १५ किलोमिटर पश्चिमतर्फ रहेको अजगैवी गाउँ पुग्न साँघुरो र जीर्ण सडक पार गर्नुपर्छ। गाउँबाट राहुलको घरसम्म पुग्ने बाटोसमेत निकै साँघुरो र असहज छ। एकातिर आधारभूत पूर्वाधारको अभाव र अर्कोतिर आर्थिक कठिनाइका बीच राहुलले आफ्नो क्रिकेट यात्रालाई निरन्तरता दिएका हुन्।

तर अहिले उनको खेलले ती सबै कठिनाइलाई ओझेलमा पारेको छ। क्रिकेट मैदानमा उनले देखाएको प्रदर्शनले गाउँको पहिचानसमेत फराकिलो बनाएको छ। छोराको सफलतापछि गाउँले, छरछिमेकी र आफन्तबाट प्राप्त माया तथा सम्मानले परिवारलाई थप उत्साहित बनाएको छ ।

राहुलकी आमा पनापति देवीले

छोराको प्रगतिपछि गाउँलेहरूको व्यवहारमा समेत सकारात्मक परिवर्तन आएको बताउनुभयो। उहाँले भन्नुभयो, “छोराले क्रिकेटमा राम्रो गरेपछि अहिले छरछिमेकी र गाउँले सबैले बधाई दिनुहुन्छ। सबैजना खुसी भएर बोल्न थाल्नुभएको छ। छोराले गरेको प्रगतिले हामीलाई निकै खुसी बनाएको छ।”

चन्द्रपुरको अभ्यास मैदानदेखि एनपिएलसम्मको यात्रा

राहुलको क्रिकेट यात्रामा रौतहटकै चन्द्रपुर नगरपालिका–८ स्थित कोटीहोम मैदानको महत्वपूर्ण भूमिका रहेको छ। उनी नियमित रूपमा त्यहाँ पुगेर अभ्यास गर्ने गर्थे। स्थानीय प्रतियोगितामा देखाएको प्रतिभा र बलिङ क्षमताका कारण उनी विस्तारै क्रिकेटप्रेमीहरूको नजरमा पर्न थालेका थिए। चन्द्रपुरका क्रिकेटर देवराज कार्कीको पहलमा गत असोज २२ गते चन्द्रपुरमा आयोजना गरिएको ट्यालेन्ट हन्ट कार्यक्रममा राहुल सहभागी भएका थिए।

सोही कार्यक्रममा उत्कृष्ट सम्भावना देखाएपछि उनी जनकपुर बोल्ट्सको छनोटमा परेका हुन्। जनकपुर बोल्ट्सले उनलाई उदयीमान खेलाडीका रूपमा आफ्नो टोलीमा आबद्ध गरेपछि रौतहटका क्रिकेटप्रेमीहरूमा उत्साह छाएको थियो। स्थानीय मैदानमा अभ्यास गर्ने एक सामान्य परिवारका किशोरले देशकै चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा स्थान बनाउनु आफैँमा ठूलो उपलब्धि हो। क्रिकेटर देवराज कार्की राहुलको प्रतिभा र मेहनतबाट निकै प्रभावित हुनुहुन्छ ।

उहाँका अनुसार राहुलमा भविष्यमा राष्ट्रियस्तरको उत्कृष्ट बलर बन्न सक्ने क्षमता छ। कार्कीले भन्नुभयो, “हेर्दै जानुहोस्, राहुल एक दिन नेपालको उत्कृष्ट बलरका रूपमा उदाउनेछन्।”

तीन खेलमै ६ विकेट, भविष्यप्रति बढ्दो आशा

एनपिएलको जारी संस्करणमा राहुलले अहिलेसम्म तीन खेल खेल्दै ६ विकेट लिइसकेका छन्। कम उमेरमै अनुभवी खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै उनले देखाएको प्रदर्शनलाई नेपाली क्रिकेटका लागि सकारात्मक सङ्केतका रूपमा हेरिएको छ। विशेषगरी बलिङमा उनको अनुशासन, आत्मविश्वास र विपक्षी ब्याटरलाई दबाबमा राख्न सक्ने क्षमताले उनलाई चर्चामा ल्याएको छ। स्थानीय प्रतियोगिताबाट आफ्नो यात्रा सुरु गरेका राहुलले छोटो समयमै एनपिएलजस्तो ठूलो मञ्चमा आफूलाई प्रमाणित गर्ने अवसर पाएका छन्।

राहुलको सफलताले आर्थिक अभावका कारण खेलकुद क्षेत्रमा अघि बढ्न नसकेका ग्रामीण क्षेत्रका अन्य प्रतिभाशाली युवालाई समेत प्रेरणा दिएको छ। पर्याप्त प्रशिक्षण, खेल सामग्री र आर्थिक सहयोगको अभाव हुँदाहुँदै पनि इच्छाशक्ति, मेहनत र निरन्तर अभ्यासले सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण राहुल बनेका छन्। यद्यपि, उनको यो सुरुवाती सफलतालाई दीर्घकालीन उपलब्धिमा रूपान्तरण गर्न परिवार, स्थानीय तह, खेलकुद क्षेत्रका सरोकारवाला र सम्बन्धित निकायको साथ आवश्यक देखिन्छ। उचित प्रशिक्षण, पोषण, खेल सामग्री र आर्थिक सहयोग उपलब्ध गराउन सके राहुलले आफ्नो प्रतिभालाई अझ निखार्न सक्नेछन्।

एउटा सामान्य किसान परिवारको जीर्ण झुपडीमा हुर्किएका राहुल अहिले देशभरका क्रिकेटप्रेमीको आशा र चासोको केन्द्र बनेका छन्। घरमा सजिएका साना–ठूला सिल्ड र मेडलबाट सुरु भएको उनको सपना अहिले एनपिएलको मैदानसम्म आइपुगेको छ। राहुलको यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, ग्रामीण भेगमा लुकेर रहेका प्रतिभालाई उचित अवसर र मञ्च उपलब्ध गराउन सके नेपाली क्रिकेटले कति सम्भावना बोकेको छ भन्ने उदाहरण पनि हो।

आज अजगैवी गाउँका बुवाआमाको आँखामा छोराको सफलताको खुसी छ भने नेपाली क्रिकेटप्रेमीको नजरमा राहुलबाट भोलि अझ ठूलो उपलब्धिको अपेक्षा छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस