कप्तानगञ्ज घटनामा उच्चस्तरीय न्यायिक छानबिनको राष्ट्रिय एकता दलको माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ११, सोमबार (१ घण्टा अघि)
  • ३७ पटक पढिएको
कप्तानगञ्ज घटनामा उच्चस्तरीय न्यायिक छानबिनको राष्ट्रिय एकता दलको माग

रौतहट, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउने सोमबारको अवसरमा बोलबम यात्राको तयारीका क्रममा भएको हिंसात्मक झडपमा परेर भएका धनजनको क्षतिको उच्चस्तरीय न्यायिक छानविनको माग राष्ट्रिय एकता दलले गरेका छन् ।

प्रहरीको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको दुखद मृत्यु भए, झडपमा मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, अमितकुमार यादव, रविन्द्र मेहता र सुनिलकुमार मेहता घाइते भएका हुन् । घाइतेहरूको विराटनगरको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादवले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी घटनाको उच्चस्तरीय न्यायिक छानबिन, मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको माग गरे ।

विद्युत् आपूर्ति बन्द र अत्यधिक बल प्रयोगको आरोप
विज्ञप्तिमा मन्दिर परिसरमा धार्मिक झण्डा च्यातिएको र श्रद्धालु माथि आक्रमण भएको दाबी गरिएको छ । साथै, घटना हुनुअघि करिब एक घण्टा सम्म सो क्षेत्रमा बत्ती (विद्युत) काटिएको र भीड नियन्त्रणका नाममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप एकता दलले लगाए ।
सञ्चार माध्यम प्रति असन्तुष्टिः
“केही मिडियाले घटनाको गम्भीरता र पृष्ठभूमि भन्दा केवल ’डीजे बजाएको’ विषयलाई मात्र उछालेर तथ्यलाई तोडमरोड गर्ने काम गरे । समाचार माध्यमले सत्यतथ्य र निष्पक्ष समाचार सम्प्रेषण हुनुपर्छ ।”
— राष्ट्रिय एकता दल
राष्ट्रिय एकता दलका मुख्य ४ मागहरूः
न्यायिक छानबिनः उच्चस्तरीय न्यायिक समिति गठन गरी दोषी प्रहरी तथा संलग्नमाथि कानुनी कारबाही ।
उचित क्षतिपूर्तिः मृतक ओमप्रकाश मेहताका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति ।
निःशुल्क उपचारः घाइते सम्पूर्ण स्थानीयको राज्यद्वारा पूर्ण उपचार खर्चको व्यवस्था ।
सुरक्षाको ग्यारेन्टीः धार्मिक स्थल र श्रद्धालुहरूको सुरक्षा तथा धार्मिक स्वतन्त्रताको प्रत्याभूति ।

ताजा अपडेट

खोजी गर्नुहोस