सोहेब अनवर पक्राउ : वडाध्यक्षमाथि प्रहरीको कारबाही

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक ११, मंगलबार (४४ मिनेट अघि)
  • २८ पटक पढिएको
सोहेब अनवर पक्राउ : वडाध्यक्षमाथि प्रहरीको कारबाही

सिरहा ,१० कात्तिक। सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाले घटनामा संलग्न रहेको आरोपमा खोजी गरिरहेका अनवरलाई आइतबार राति गोलबजार क्षेत्रबाट पक्राउ गरेको छ । सिरहा प्रहरीले अनवरलाई पक्राउ गरी घटनासम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ ।

सिरहा प्रहरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार, उनीविरुद्ध परेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्राप्त विवरण अनुसार, सुनसरीको देवानगञ्जमा गत साउन १० गते भएको घटनापछि सिरहाको गोलबजारमा साउन १४ गते अर्को घटना भएको थियो ।

उक्त घटनामा वडाध्यक्ष अनवरको संलग्नता रहेको आरोप लगाइएको छ । गोलबजारमा भएको घटनाका क्रममा दंगा भड्काउने, तोडफोड गर्ने तथा आगजनीका गतिविधिमा अनवरको मुख्य भूमिका रहेको दाबी गर्दै ‘हिन्दु सम्राट सेना’ नामक संस्थाले प्रहरीमा जाहेरी दिएको थियो ।

सोही जाहेरीका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको छ । यद्यपि, जाहेरीमा लगाइएका आरोप पुष्टि भइसकेका छैनन् । घटनामा अनवरको वास्तविक भूमिका के थियो भन्ने विषय प्रहरी अनुसन्धानबाट खुल्न बाँकी छ ।

सिरहा प्रहरीका अनुसार, अनवरविरुद्ध परेको जाहेरी दर्ता गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको थियो। त्यसपछि सिरहा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले उनको खोजी सुरु गरेको थियो । तर पक्राउ अनुमति प्राप्त भएपछि पनि उनी लामो समयसम्म प्रहरीको सम्पर्कमा आएका थिएनन् । प्रहरीले उनको खोजतलास जारी राखेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस