कर दर हेरफेर विवादमा अर्थमन्त्री वाग्लेको पक्षमा सरकारका प्रवक्ताको बचाउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २६, मंगलबार (१० घण्टा अघि)
  • ३६ पटक पढिएको
कर दर हेरफेर विवादमा अर्थमन्त्री वाग्लेको पक्षमा सरकारका प्रवक्ताको बचाउ

 काठमाडौं, २६ जेठ। संसद्‍मा पेस भइसकेको आर्थिक विधेयकमा करका दर हेरफेर गरेको प्रश्नमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउ गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूले उनलाई करका दर हेरफेर भएको विषयमा प्रश्न सोधेका थिए ।

जवाफमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले भने, ‘अर्थमन्त्रीज्यूले एकदमै मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनुभएको छ । त्यसमा हाम्रो पूर्ण समर्थन छ ।’

आर्थिक विधेयकमा रहेका करका दर आफूखुसी हेरफेर गरेपछि यो विषयमा संसद्‍मा समेत प्रश्न उठिरहेको छ । खासगरी विपक्षी दलहरूले अर्थमन्त्रीमाथि प्रश्न गरिरहेका छन् र संसदीय छानबिन समिति गठन सम्मको मागको विषय उठेको छ ।

संसद्‍मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रुपमा विधेयक अगाडि सारेपछि यो विषयमा सरकारको आलोचना भइरहेको छ ।

अर्थमन्त्री डा. वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए ।

उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या ४६४ छ । अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा राखेको विधेयकको पृष्ठ संख्या ४४८ छ ।

अर्थमन्त्रालयले १६ पेज हटाएर विधेयक सार्वजनिक गरेको हो ।

संसद पेश गरेको र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा पछिल्लो पटक राखेको आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्थामै फरकपन छ ।

संसद्का जानकारहरूका अनुसार संसद्मा पेश भइसकेको विधेयकमा संशोधन गर्न संसद्को अनिवार्य स्वीकृति चाहिन्छ । संसदमा पेस गरिसकेको आर्थिक विधेयकमा भएका विषय सच्याउनका लागि पहिला संसदमा संशोधन ल्याउनुपर्ने हुन्छ । संसद्‍मा पुगिसकेको विधेयकमा अर्थ मन्त्रालयले आफैं सच्याउन पाउने कानुन छैन ।

यसबारेको प्रश्नमा भने सरकारका प्रवक्ता पोखरेलले अर्थमन्त्री वाग्लेले मेहनत गरेर राम्रो बजेट ल्याएको भन्दै बचाउ गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस