
बारा, ११ साउन। नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सकलाई आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
घटनाको थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा भूमिकाबारे समेत अनुसन्धान भइरहेको छ ।
घटनाको वास्तविक अवस्था बुझ्न, परिस्थितिको अनुगमन गर्न तथा आवश्यक समन्वय गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट प्रतिनिधि टोली वीरगञ्ज पठाइएको छ।
यसैबीच, घटनामा घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् । घाइते भएका चिकित्सक रामको उपचारको आवश्यक व्यवस्था नेपाल सरकारले मिलाएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य संस्थामा हुने कुनै पनि प्रकारको हिंसा स्वीकार्य नहुने भन्दै मन्त्री मेहताले दोषीमाथि कानुनबमोजिम कारबाही हुने र स्वास्थ्यकर्मीको सुरक्षा तथा नागरिकले सुरक्षित वातावरणमा उपचार सेवा पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।
