
काठमाडौं, २६ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला सभापतिमा बुद्धिप्रसाद पन्त (हरि पन्त) निर्वाचित भएका छन् । नयाँ जिल्ला नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा पन्त नेतृत्वको प्यानलले सबै प्रमुख पदमा विजय हासिल गर्दै सङ्गठनमा आफ्नो स्पष्ट वर्चस्व कायम गरेको छ ।
निर्वाचन समितिका संयोजक नन्दन यादवका अनुसार सभापति पदमा पन्तले १६६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सुशील कुमार कानुले ११८ मत प्राप्त गरेका थिए । पन्तले ४८ मतको फराकिलो अन्तरले जीत निकालेका हुन् ।
पन्त पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हुन् भने कानु क्षेत्र नं. २ का सांसद हुन् । दुवै पक्ष प्यानलसहित निर्वाचनमा होमिएका थिए ।
उपसभापति पदमा पन्त समूहकै दिलीपकुमार कुर्मी १६२ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रन्दीप श्रीवास्तवले ११४ मत प्राप्त गरेका छन् ।
सचिव पदमा सुदिशकुमार प्रजापति १६० मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी शिवकुमार साहले ११६ मत प्राप्त गरे । सहसचिव पदमा कृष्णा पासवान १४९ मतसहित विजयी हुँदा नीरजकुमार साह ११३ मतमा सीमित भए ।
सदस्य पदतर्फ तुलसा पौडेल अधिकारी १६० मत प्राप्त गर्दै सर्वाधिक लोकप्रिय उम्मेदवार बनेकी छन् । सदस्यमा प्रियङ्का कुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी र शशीदेवी थरुनी पनि निर्वाचित भएका छन् ।
निर्वाचन परिणामसँगै रास्वपा पर्साको नयाँ जिल्ला नेतृत्वमा संस्थापन पक्षको पूर्ण वर्चस्व स्थापित भएको छ । पर्साका चार सांसदमध्ये हरि पन्तले पार्टीका पुराना नेतृत्व र कार्यकर्ताको साथ लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।
यता सुशील कुमार कानुलाई क्षेत्र नं. ३ का सांसद रामाकान्त चौरसिया, क्षेत्र नं. ४ का सांसद टेकबहादुर शाक्य तथा नेता सुधिर पटेलको समर्थन रहेको थियो ।
निर्वाचनको नतिजाले पर्सा जिल्लामा हरि पन्त समूहको सङ्गठनात्मक पकड अझ बलियो बनेको राजनीतिक वृत्तमा चर्चा गरिएको छ ।
