
काठमाडौं, २६ जेठ। मंगलबारको मन्त्रिपरिषद् बैठकमा एउटा भिन्न दृश्य देखियो– जहाँ देशका महत्त्वपूर्ण नीतिगत निर्णयसँगै सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनले पनि प्रवेश पाए ।
स्वदेशी उत्पादन प्रवर्द्धन र किसान हित प्राथमिकता दिने उद्देश्यले कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहसहित सबै मन्त्रीलाई डीडीसीका उत्पादनको प्याकेट वितरण गरेकी हुन् ।
प्रधानमन्त्री र मन्त्रीहरूलाई बाँडिएको प्याकेटमा डीडीसीबाट उत्पादित दूध, केशर दूध, बटर, चिज, दही र पेँडा छ ।
स्वदेशी वस्तुको उपभोग बढाउने र सरकारी संस्थानको बजार विस्तार गर्ने एजेन्डा सांकेतिक रूपमा अगाडि बढाउन मन्त्री चौधरीले बैठककै क्रममा डीडीसीको प्याकेट वितरण गरेकी थिइन् ।
मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादनको देशव्यापी प्रवर्द्धन तथा व्यावसायिक सुदृढीकरणका विषयमा छलफल समेत भएको छ ।
बैठकमा मन्त्री चौधरीले नेपाली किसानबाट संकलित दूधको उचित व्यवस्थापन र बजार सुनिश्चित गर्न सरकारी तहबाटै अग्रसरता लिनुपर्नेमा जोड दिइन् ।
‘डीडीसीलाई थप प्रतिस्पर्धी र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकायबीच समन्वय आवश्यक छ,’ उनले भनिन्, ‘स्वदेशी दुग्ध उत्पादनको संरक्षण र किसानको हितका लागि हामी आफैंले यसको उपभोग र प्रवर्द्धनमा उदाहरण पेस गर्नुपर्छ ।’
प्रधानमन्त्री शाहले पनि डीडीसीका उत्पादनको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको सन्देश दिएका छन् ।
केही समयअघि उनले आफैं डीडीसीका उत्पादन प्रचार गर्दै स्वदेशी वस्तुको प्रयोग बढाउन आम नागरिकलाई समेत आह्वान गरेका थिए ।
लामो समयदेखि नेपाली उपभोक्तामाझ शुद्ध र गुणस्तरीय दूध, घिउ, दही, पनिर र चिज जस्ता उत्पादन उपलब्ध गराउँदै आएको डीडीसीको यो अभियानले मन्त्रिपरिषद्को साथ पाएपछि थप ऊर्जा मिल्ने विश्वास लिइएको छ ।
सरकारले स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा अगाडि बढाउने रणनीति अन्तर्गत यो कदम चालेको हो ।
