
काठमाडौँ, ११ साउन। रास्वपाको प्रथम महाधिवेशन सकिएको सोमबार (साउन ११ गते) एक महिना पुग्छ । यो एक महिनाको अवधिभित्र महाधिवेशनको समीक्षा हुन नसकेको भन्दै पार्टीभित्र नेताहरूले प्रश्न उठाउन सुरु गरेका छन् ।
रास्वपाले महाधिवेशन सम्पन्न गर्ने क्रममा भएको व्यवस्थापकीय कमजोरी रहेको स्विकारेको छ । तर, महाधिवेशनमा भएका बेथितिको समीक्षा भने हालसम्म गरेको छैन ।
पहिलो महाधिवेशनको क्रममा भएका गल्ती कमजोरीको ‘निर्मम’ समीक्षा गर्नुपर्ने नेताहरूको जोड छ ।
विधि र प्रक्रियाको वकालत गर्दै आएको रास्वपाले आफूभित्र भने त्यसलाई यथोचित कार्यान्वयन नगरेको भन्दै नेताहरूले प्रश्न उठाएका छन् ।
केन्द्रीय सदस्य समीक्षा बाँस्कोटाका अनुसार पार्टी बैठक नै गरेर महाधिवेशनको समीक्षा नभएपनि पार्टीभित्र कुराकानीहरू भइरहेको जानकारी गराइन् ।
बाँस्कोटाले भनिन्,‘अरु-अरु विषयमा लाग्नुपर्ने भएको हुँदा पार्टी बैठक हुन नसकेको हो । सिंगो समितिको बैठक बस्न नसकेपनि आन्तरिक कुराकानीहरू भइरहेका छन् ।’
रास्वपाका लागि महाधिवेशनमा सबैभन्दा जटिल विषय समयमै प्रतिनिधिको टुंगो लगाउन नसक्नु रह्यो ।
प्रतिनिधिमा टुंगो लाग्न नसक्दा असार ८ गतेका लागि तोकिएको बन्दसत्र त्यस दिन सुरु हुन नै सकेन । असार ९ गते दिउँसो ३:३० बजे आसपास बन्दसत्र सुरु भएपनि त्यसबेला सम्म पनि प्रतिनिधि यकिन भएका थिएनन् ।
केन्द्रीय सदस्यका प्रतिस्पर्धी मध्येका एक त्यसबेलाको स्मरण गर्दै भन्छन्,‘प्रतिनिधि कार्ड बन्द सत्र सकिएपछि मात्रै प्राप्त हुँदा बन्दसत्रमा सहभागी हुन सयौँ प्रतिनिधिहरू बञ्चित हुनुपर्यो । प्रतिनिधि निश्चित नगरी किन महाधिवेशन सुरु गरियो ? केन्द्रीय समितिमा यो विषय जोडदार उठ्नुपर्छ ।’
निर्वाचन गरेर नयाँ नेतृत्व आउने बेलासम्म पनि रास्वपाले महाधिवेशन प्रतिनिधिको निश्चित संख्या बाहिर ल्याएन ।
महाधिवेशनमा अर्को विवादित विषय बन्यो- विद्युतीय मतदानका क्रममा राखिएको उम्मेदवारको सूची । खुलातर्फ ६४ जनालाई मतदान गर्न बाध्यकारी बनाइएको र आफूलाई मन नपरेको व्यक्तिलाई पनि मत दिनु परेको भन्दै स्वयं उम्मेदवारहरूले प्रश्न उठाए ।
तल्लो तहको अधिवेशनमा ‘नो भोट’ लागु गर्ने तर केन्द्रमा उक्त पद्दति हटाइएको भन्दै महाधिवेशनमा नेता र प्रतिनिधिहरूले आपत्ति जनाएका थिए ।
‘आफू विरुद्ध उठेको उम्मेदवारलाई मत दिने पद्दति बनाइयो । नो भोटको पद्दति केन्द्रमा लागु हुन नसक्नुमा भएको कमजोरीको आत्म मूल्यांकन पार्टीले गर्नुपर्दछ,’ निर्वाचित एक केन्द्रीयले भने ।
क्लस्टर अनुसार उम्मेदवारको सूची नराख्दा आफूले नचिनेको व्यक्तिलाई समेत मत दिनुपरेको गुनासो प्रतिनिधिले त्यसबेला गरेका थिए । साथै, विद्युतीय मेसिनमा उम्मेदवारको सूची राख्दा उम्मेदवारी दर्ता वा वर्णानुक्रम मध्ये दुवै विधि लागु गरिएको थिएन ।
केन्द्रीय सदस्यको लागि भएको निर्वाचनमा विद्युतीय मेसिनमा सबैभन्दा पहिले डा. स्वर्णिम वाग्ले र दोस्रोमा सोबिता गौतमको नाम राखिएको थियो ।
क्लष्टर अनुसारको उम्मेदवार सूची बनाउन तयार रहेपनि रास्वपाको निर्वाचन आयोग उक्त विधिको पक्षमा नरहेको विद्युतीय मतदानका व्यवस्थापकले स्पष्टीकरण दिएका थिए ।
‘यस महाधिवेशनका लागि पनि हामीले प्रारम्भिक रूपमा दिनभरि लगाएर छुट्टाछुट्टै क्लस्टर अनुसार मतदान प्रणाली तयार गरेका थियौँ । तर अन्तिम समयमा निर्वाचन समितिबाट सबै उम्मेदवारलाई एउटै समूहमा समावेश गरी मतदान गराउने निर्णय तथा निर्देशन प्राप्त भयो,’ विद्युतीय मतदान मेसिनका विकासकर्ता राम लक्ष्मण इनोभेसनले भनेको थियो, ‘त्यस क्रममा हामीले यस्तो विन्यासले मतगणना तथा नतिजा मिलान प्रक्रियालाई जटिल बनाउन सक्ने प्राविधिक सुझाव पटक-पटक दिएका थियौँ । तर निर्वाचन समितिले पार्टीको विधानअनुसार यही व्यवस्था लागू गर्नुपर्ने निर्णय गरेको जानकारी गरायो ।’
महाधिवेशनका लागि तय गरिएका सबै सत्र निर्धारित समयमा सुरु हुन सकेका थिएनन् । उम्मेदवारको प्रारम्भिक र अन्तिम नामावली सार्वजनिक गर्ने भनि कार्यतालिका बनाइएपनि अन्तिम नामावली सार्वजनिक गरिएन ।
रास्वपाले पहिलो महाधिवेशनका लागि भरतपुरमा डाकेका प्रतिनिधिहरू मध्ये अधिकांश महाधिवेशन नसकिँदै घर फर्केका थिए ।
असार ११ गते केन्द्रीय सदस्यका लागि भएको मतदानमा २९५९ मत खसेको थियो । जबकी, महाधिवेशन प्रतिनिधिको संख्या ४१ सय बढी थियो ।
उक्त संख्या पदाधिकारीका लागि मतदान हुँदा उल्लेख्य घट्यो । एक उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीका लागि भएको दोस्रो चरणको मतदानमा १२८९ मात्रै मत खस्यो ।
महाधिवेशन अवधिभर प्रतिनिधिलाई राख्न नसक्नुको जवाफ नेतृत्वले दिनुपर्ने निर्वाचित केन्द्रीय सदस्य बताउँछन् ।
उनी भन्छन्,‘दुई चरणको मतदान हुने विधानको व्यवस्था प्रतिनिधिलाई जानकारी नगराउँदा यस्तो भयो । बहुसंख्यक प्रतिनिधि घर फर्केपछि भएको पदाधिकारी निर्वाचनको वैधतामाथि प्रश्न छ । बैठकमा छलफल होला ।’
असार १२ गते दिउँसो २ बजेबाट पदाधिकारीको मतदान सुरु गरिएको थियो । दिउँसोबाट मतदान सुरु गरिएको हुँदा बागमती, मधेस र लुम्बिनीबाट बुटवलसम्मका प्रतिनिधिलाई फर्काउन सकिने विश्वास पनि नेताहरूले लिएका थिए ।
तर, मतदानको अवधिभर फर्कन सक्ने स्थानबाट पनि प्रतिनिधि फर्केनन् । महाधिवेशन स्थलमा रहेका करिब ३० प्रतिशत प्रतिनिधि मार्फत पदाधिकारीको चयन गरियो ।
निर्वाचित केन्द्रीय सदस्यहरूको नाम सार्वजनिक गर्ने क्रममा समेत रास्वपाको निर्वाचन आयोगले अपरिपक्व देखाएको भन्दै पार्टीभित्र प्रश्न उठेको छ ।
महाधिवेशनबाट निर्वाचित भएको भने सार्वजनिक गरिएको तर क्लष्टर मिलाउन भन्दै हटाएको भनिएपछि दुई उम्मेदवार क्रुद्ध बनेका थिए ।
निर्वाचितको सूची सच्याउने क्रममा आयोगले कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाएको छ ।
उनीहरूको स्थानमा क्रमशः ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई केन्द्रीय सदस्य बनाइयो । पूजा बास्तोलालाई केन्द्रीय सदस्य बनाएकोप्रति आपत्ति जनाउँदै सोम शर्माले निर्वाचन आयोग गुहारे ।
असार २४ गते शर्मा नै केन्द्रीय सदस्य रहेको पत्र निर्वाचन आयोगले सार्वजनिक गरेको थियो ।
पार्टी संरचनाभित्रका निर्वाचनमा प्यानलगत प्रतिस्पर्धाको विरोधी पार्टीका रुपमा रास्वपाले आफूलाई अर्थ्याएको छ ।
प्यानलगत प्रतिस्पर्धा हुने गरी मत नमाग्न पार्टी पङ्तिमा निर्देशन जारी गरिएको पनि थियो ।
तर, अघोषित रुपमा प्यानलगत मत मागिएको भन्दै त्यतिबेला नै प्रतिस्पर्धीले गुनासो गरेका थिए ।
उपसभापति र महामन्त्रीका लागि संस्थापन पक्षले अघोषित प्यानल बनाएको निर्वाचित केन्द्रीय सदस्यले आरोप लगाए ।
केन्द्रीय समितिको बैठकमा उक्त विषयले पनि प्रवेश पाउने दाबी गर्दै उनी भन्छन्,‘एक पछि अर्को व्यक्तिलाई बोलाउँदै उम्मेदवार फिर्ता गर्न लगाइयो । के का लागि ? जगजाहेर छ ।’
राजनीतिक दल सम्बन्धी ऐनअनुसार पदाधिकारीमा भएको हेरफेर निर्णय भएको मितिले ३० दिनभित्र हुनुपर्दछ ।
निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार निर्वाचितहरूको सूची रास्वपाले अद्यावधिक गरिसकेको छ ।
भट्टराईले अनलाइनखबरसँग भने,‘मनोनीत पदाधिकारीहरूको रिक्त पद खालि राखेर निर्वाचितहरूको सूची रास्वपाले अद्यावधिक गरिसकेको छ ।’
महाधिवेशनबाट सभापति, दुई उपसभापति, एक महामहामन्त्री, तीन सहमहामन्त्री सहित ९९ जना निर्वाचित भएका छन् । विधानको व्यवस्था अनुसार ११ पदाधिकारी सहित थप ५१ केन्द्रीय सदस्य मनोनीतबाट पदपूर्ति गर्नुपर्ने हुन्छ ।
नेता गणेश पराजुलीले यही महिनाभित्र पूर्ण कार्यसमिति बन्ने अपेक्षा राखे । ‘धेरै कुरा टुंग्याउनु पर्नेछ । पूर्ण कार्यसमिति यही महिनाभित्र आउला,’ पराजुलीले अनलाइनखबरसँग भने । केन्द्रीय समितिको बैठक छिट्टै बसेर महाधिवेशन लगायत समग्र विषयमा समीक्षा गरिने पराजुलीले जानकारी दिए ।
