
काठमाडौं, २६ जेठ। राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्धको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तय भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको अभियोगमा २०८२ चैत १ गते भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गरेको थियो । अधिकारीले उक्त रकम जग्गा खरिद र ऋण तिर्न प्रयोग भएको आयोगको दाबी छ ।
एचके इन्टरप्राइजेज भन्ने कम्पनीविरुद्ध राजस्व चुहावट गरेको आरोपमा राजस्व विभागमा उजुरी परेपछि उक्त मुद्दाबाट जोगिन कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले ७० लाख रुपैयाँ दिएको भेटिएको अख्तियारको दाबी छ ।
उक्त रकम विकास चापागाईं, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतको सल्लाहमा उनीहरूको खातामा राखिएको अख्तियारको दाबी छ । त्यसपछि उनीहरूले भक्तपुरको दिव्यश्वरी आयोजना भित्रको ५ आना जग्गा खरिद गरेको भेटिएको आयोगको दाबी छ ।
देवेन्द्र केसी सञ्चालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानीमा समेत त्यो रकम प्रयोग भएको अनुसन्धानबाट खुलेको थियो ।
