सुनसरी घटनामा सांसद थापाको आपत्ति– गोली चलाउनु आवश्यक थिएन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ११, सोमबार (१ घण्टा अघि)
  • ५१ पटक पढिएको
सुनसरी घटनामा सांसद थापाको आपत्ति– गोली चलाउनु आवश्यक थिएन

सुनसरी, ११ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले घटनालाई ‘अत्यन्तै गम्भीर र खेदजनक’ बताएका छन् ।

घटनास्थल पुगेर सुरक्षा निकायसँग छलफल गरेका थापाले प्रहरीले गोली चलाउनु नपर्ने अवस्था रहेको दाबी गर्दै घटनाका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन् ।

उनले गोली लागेका सबै व्यक्तिको अवस्थाबारे यकिन गर्न र कतै अन्य घाइते लुकेर बसेका वा उपचार नपाएर अलपत्र परेका छन् कि भनेर पुन: खोजी गर्न प्रशासनलाई आग्रह गरेका छन् । ‘मान्छे कहिँकतै लुकेको, ढलेका छन् कि एकपटक सर्च गरौं,’ सांसद थापाले भने ।

उनीसँग एक प्रहरी अधिकृतले भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सर्च गरेको तर त्यस्तो अवस्थाका व्यक्ति फेला नपारेको बताएका छन् ।

‘गोली चलाउनुपर्ने कन्डिसन छँदैछैन’

सांसद थापाले घटना अत्यन्तै गम्भीर र दर्दनाक भन्दै नागरिकमाथि यसरी गोली चलाउनु खेदजनक भएको बताए । उनले यस घटनामा गोली चलाउनुपर्ने अवस्थै नभएको समेत जिकिर गरेका छन् । ‘कुनै पनि हालतमा काहीँ पनि गोली चलाउनुपर्ने कन्डिसन छँदैछैन यो घटनामा,’ सांसद थापाले भनेका छन् ।’

उनले यस घटनामा प्रशासन र सुरक्षा निकायबीच समन्वय अभाव भएको आशंका गरे । ‘हामी जिम्मेवार मान्छे छौं । कहिँकतै परिस्थिति फेरबदल आउन लाग्यो भने समन्वयकारी हातहरु अगाडि बढाउनुपर्छ । सीडीओ साबलाई सोध्दा पनि उहाँले मलाई जानकारी छैन भन्नुभाछ । एसपी साबलाई फोन गर्दा एसपी साबले फोन उठाइराख्नुभाछैन र अरु कसैले उठाइराछ,’ सांसद थापा भन्छन्, ‘मेरो नागरिकमाथि डंगडंग गोली चलाको छ । कमसेकम एउटा मर्यादा हुन्छ ।’

हातमा हतियार छ भन्दैमा नागरिकमाथि गोली चलाउने काम स्वीकार्य हुन नसक्ने उनको भनाइ छ । ‘जसले गर्‍यो यो खेदजनक छ । अत्यन्तै गर्नै नहुने काम भयो,’ उनले भनेका छन् ।

देशभर नकारात्मक सन्देश जाने भएकाले संयमता अपनाउन आग्रह

नयाँ सरकार बनेको अवस्थामा यस्ता घटनाले देशभर नकारात्मक सन्देश जाने भन्दै सुरक्षा निकायलाई अधिकतम संयमता अपनाउन आग्रह गरे ।

धार्मिक विवादका कारण परिस्थिति थप नबिग्रियोस् भन्नेमा सबै पक्षले संयम अपनाउनुपर्ने थापाले बताए ।

उनका अनुसार उनले जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीसँग छुट्टाछुट्टै छलफल गरेका छन् । तर घटनाको प्रारम्भिक विवरणबारे सुरक्षा निकायका अधिकारीहरूबाट समेत स्पष्ट जानकारी नपाएको उनले बताएका छन् ।

थापाले घटनाको वास्तविकता बुझ्न आफू रातिसम्म घटनास्थलमै बसेको उल्लेख गर्दै स्थानीय प्रहरीसँग पनि प्रत्यक्ष रूपमा जानकारी लिएको बताए । उनका अनुसार अहिले स्थानीय प्रशासन, जनप्रतिनिधि र सुरक्षा निकायबीच समन्वय गरेर अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ ।

उनले घाइतेहरूको उपचारलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै आवश्यक परे काठमाडौंसम्म उपचारको व्यवस्था मिलाउन पहल गर्ने बताए ।

देवानगञ्ज–३ कप्तानगञ्जमा गएराति दुई समूहबीच उत्पन्न विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले उक्त क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस