बैशाख ०१ गते
नेपालको औपचारिक सम्वत्को रुपमा रहेको विक्रम सम्वत्को नयाँ वर्ष आजदेखि सुरु भएको छ । हरेक वर्ष वैशाख १ गते नयाँ वर्षको रुपमा मनाइने गरिन्छ । नेपालभर र नेपालीहरु विश्वमा जहाँ पनि छरिएर रहेका छन्, ती सबै ठाउँमा नयाँ वर्ष मनाइन्छ आजकै दिन । नयाँ वर्षको दिन नेपाल सरकारले सार्वजनिक विदा दिने गरेको छ । यसले गर्दा नयाँ वर्षको मूल्य अझ बढ्न गएको छ । नेपालभित्रका सबै धर्म, समुदाय, सम्प्रदाय, जातले यसलाई हर्ष र खुसीका साथ मनाउने गरेका छन् । नेपालका अनेक जातजाति तथा समुदायमा आजको दिनलाई विशेष सांस्कृतिक दिनको रुपमा पनि लिने गरिएको छ । यसबाट यो स्पष्ट हुन्छ कि विक्रमको नयाँ वर्ष नेपालीको आन्तरिक संस्कृति बनिसकेको छ ।
वैशाख संक्रान्ति हाम्रो संस्कृति बनिसकेको सन्दर्भमा आजको दिनलाई अझ विशेष बनाउन मुख्य गरी शिक्षित मानिसहरुले पिकनिक वा भोजको आयोजन गर्ने गरेका छन् । शिक्षितदेखि सर्वसाधारणसम्मले आजको दिन माछा, मासु, दही र अन्य परिकार खाने गरेका छन् । नयाँ वर्षमा गरिने हाम्रो विशेष परम्परागत संस्कार र भोजन हामीले बिर्सिसकेका छौँ । अलिकति भए पनि गाउँले बचाएर राखेको छ तर दिनपरदिन यो पनि हट्दै र घट्दै गएको पाइएको छ । हाम्रो संस्कृतिको नयाँ वर्ष रहेको भए पनि वास्तवमा यसमा गरिने भोजभतेर र तामझाम, पिकनिक चाहिँ आगन्तुक संस्कृति हो । अत्यधिक पेय पदार्थ पिउने, मदिरापान गर्ने तथा बेस्सरी जोरले मोटरबाइक कुदाउने आजका नयाँ पुस्ताका कुनै पनि चाडपर्वका मुख्य चिनारी बन्न पुगेका छन् । बिना मदिरा कनै पार्टी हुनै सकिरहेको छैन । हुन त अहिलेको देखावटी आवश्यकता पनि भएको होला र जहाँ गए पनि फेसबुकमा हालिहाल्ने भन्ने क्रेजको कारणले यस प्रकारको संस्कृतिको विकास भइरहेको होला ।
आजको दिन हरेकले आफ्नो संस्कृतिलाई सही अर्थमा असल नियतले मनाओस् । सम्भव भएसम्म सादगीपूर्णरुपमा नयाँ वर्षलाई सबैले स्वागत गरौँ । नयाँ वर्ष सबैको लागि मंगलमय होओस् । यो वर्ष सबै किसिमका रोगव्याधिबाट नेपालीहरु सुरक्षित रहून् । नयाँ वर्षको पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठक, लेखक, सम्वाददाता, स्तम्भकार तथा शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।