जनकपुरधाम । जेठ ३१ गते
एक महिलालाई धनुषामा खेतको विषयमा विवाद हुँदा मरणासन्न कुटपिट गरिएको छ । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ४ लक्ष्मिपुर निवासी ५५ वर्षीया राजोदेवी यादवलाई स्थानीय महावीर यादव र उनका भाई दिनेश यादवले गत बिहीबार बिहान करिब ९ बजे निर्घात कुटपिट गरी खेतमै छाडेर भागेको पीडितले बताएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी उनको जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचार भइरहेको बताए । उनले भने, ‘म सो दिन बिहान आफ्नो खेतमा काम गरिरहेकी थिएँ । त्यतिकैमा दिनेशले मेरो अन्नबालीमा ट्रयाक्टर गुडाइरहेको देखेँ । मेरो खेतमा किन ट्रयाक्टर चलाइस् भनेर सोध्न जाँदा उल्टै दुवै दाजुभाइ मिलेर मलाई मरणासन्न हुनेगरी कुटपिट गरे । कुटपिट गरेर मलाई खेतमै यस्तो अवस्थामा छाडेर उनीहरू फरार भए । पीडितले घटनाबारे धनुषाधाम प्रहरी चौकीलाई खबर गरे पनि पीडकलाई कारबाही गर्न प्रहरीले कुनै चासो लिएनन् बताए । घटनापछि राजोदेवीलाई स्थानीयको सहयोगमा धनुषाधामस्थित पपुलर हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ उनको उपचार सम्भव नभएपछि अहिले उनलाई जनकपुरधाम ल्याइएको छ । उनको शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकले बताए । राजोदेवीको श्रीमानको मृत्यु भइसकेको र दुईजना छोराहरु वैदेशिक रोजगार सिलसिलामा रहेकाले मौकाछोपी उनीमाथि सांघातिक आक्रमण गरिएको स्थानीयले बताएको छ ।