उपेन्द्र गोले । रौतहट । असार ०७ गते
रौतहटका पत्रकारहरुले कोरोना खोप पाउने भएका छन । रौतहटमा रहेको क्रियासिल पत्रकारहरुमध्ये केही पत्रकारहरुले कोरोना विरुद्धको खोप लगाउन पाएका छैनन । केहीले पहिलो डोज मात्र लगाएका छन । तर अब भने खोप लगाउन छुटेका र पहिलो डोज मात्र लगाएका सम्पुर्ण पत्रकारहरुले कोरोना खोप पाउने भएका छन । पत्रकार तथा अधिवक्ताद्वय लिलानाथ घिमिरे र विष्णुकुमार गिरीले पत्रकारका लागि खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नु भएको थियो । सो रिटमा अन्तरिम आदेश दिँदै सम्मानीत सर्वोच्च अदालतले पहिलो खोप लगाएका पत्रकारलाई दोस्रो र पहिलो खोप नलगाएका पत्रकारलाई पहिलो खोप उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको छ । आदेश जारी भइसँगै रौतहट लगायत मुलुकभरका पत्रकारहरुले खोप लगाउने ढोका खुलेको छ । रौतहटका ठुला सञ्चार गृहमा काम गर्दै आएका पत्रकारहरुले मात्र कोरोना खोप लगाएका थिए । अब खोप लगाउन छुटेका सम्पुर्ण पत्रकारहरुले खोप लगाउन पाउने भएको छ । नेपाल पत्रकार महासंघले यसअघि नै स्वास्थ्य तथा जनसंख्यामन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग भेटेर पत्रकारका लागि खोपको व्यवस्था गर्न माग गरेको थियो ।