अविरल वर्षाले रौतहटको विभिन्न नदी तथा खोलामा बाढी आएको छ । लगातारको वर्षाले जिल्लाको नदीहरुमा पानीको जलसतह बढदै गएको छ । विगत केहिदिन देखी भइरहेको लगातारको वर्षाले रौतहटको प्रमुख दुई ठुलो नदी बागमति र लाल बकैयामा पानीको जलस्तर बढदै गएको छ । भिषण वर्षाले जिल्लाको पुर्वी भेग स्थित रहेको बागमति र पच्छिमी भेग स्थित रहेको लाल बकैया नदिमा पानीको बहाव बढदो क्रममा रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभएको छ । त्यस्तै चाँदी, झाँझ, गुजरा, लमहा लगाएतको खोलाहरुमा समेत पानीको जलस्तर बढदो क्रममा रहेको सिडियो यादवले बताए । जिल्लाको ठुला देखी लिएर साना सबै नदीहरुमा पानीको बहाव बढदै गएकोले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय गौरले आज एक सुचना जारी गर्दै वर्षाका कारण बागमति, लालबकैया, चाँदी, झाँझ लगाएतका नदीहरुमा पानीको सतह खतराको तहसम्म पुग्न सक्ने सम्भावना रहेकोले तटीय क्षेत्रका नागरिकहरुलाई सजकता अपनाउन आग्रह गरेको हो । नदीहरुमा पानीको जलस्तर बढदै जाँदा जिल्लाका अधिकांश गाउँ, शहर र सदरमुकाम गौर समेत डुवानमा पर्ने सम्भावना बढदै गएको छ । प्रत्येक वर्ष बागमति र लाल बकैया नदीमा आउने बाढीले सदरमुकाम गौर लगाएतको क्षेत्र डुवानमा पर्ने गरेको छ । प्रत्येक वर्ष जसो नदीहरुमा आउने बाढी गाउँ बस्तीमा प्रवेस गरेर ठुलो जनधनको क्षति समेत पुरयाउँदै आएको छ । रौतहट जिल्ला प्रत्येक वर्ष बाढी र डुवानको चपेटामा पर्दै आएको छ । केहि दिनदेखी भइरहेको वर्षा अझै केहि दिनसम्म जारी रहे यस वर्ष पनि रौतहट डुवानमा पर्ने र ठुलो जनधनको क्षति हुने सम्भावना रहेकोले जिल्लावासीलाई सतर्क रहन आवश्यक रहेको देखिएको छ ।