उपेन्द्र गोले रौतहट असार २१ गते
रौतहटका ३ सुरक्षा निकायहरुलाई विपद् ब्यबस्थापनका लागी विपद् खोज तथा उद्धार सामग्रीहरु वितरण गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय रौतहटमा एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले रौतहटका ३ ओटा सुरक्षा निकायका प्रमुखहरुलाई सो सामग्रीहरु वितरण गरिएको हो । बीरदल गण, पुरेनवा, जिल्ला प्रहरी कार्यालय रौतहट र सशस्त्र प्रहरी वल नेपाललाई लाईफ ज्याकेट २०÷२० थान, लाइफ रिंग १५÷१५ थान, फुट पम्प, प्याडेल लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति रौतहटले जिल्ला प्रहरी कार्यालय रौतहटलाई बाढी र डुबानको अवस्था निगरानी गर्न सहजताका लागी १ थान ड्रोन क्यामेरा पनि प्रदान गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भयो । रौतहटमा वर्षेनी बाढी तथा डुबानको चपेटामा पर्ने भएकाले संकट आइ परेमा उद्धार , राहत तथा निगारानीमा बढाउन उद्धार सामाग्रीहरु उपलब्ध वितरण गरेको यादवको भनाई रहेको छ । वर्षायाममा रौतहटका विभिन्न स्थानमा कुनैपनि बेला नदिजन्य विपद् आउन सक्ने भएकाले तीन वटै सुरक्षा निकायलाई हाइ अर्लटमा राखिएको समेत जानकारी दिनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाह, बीरदल गणका प्रमुख सेनानी राजन दाहाल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटका सशस्त्र प्रहरी नायव निरिक्षक गोबिन्द खाती, गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता लगायतको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय नायव सुब्बा रामनरेश साहले जानकारी दिनु भयो ।