राजेन्द्र महतो लहान, असार २२ गते
काठमाडौं ।नेपाल वायुसेवा निगमको विघटन गरी व्यापारीलाई सुम्पने तयारीविरुद्ध उत्रेका निगमका कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरी लाठी चार्ज गर्दा ५० जनाभन्दा बढी कर्मचारी घाइते भएका छन् ।
निगमका तीनवटै क्रियाशील कर्मचारी युनियनले महाप्रबन्धक डिमप्रसाद पौडेलको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तालाबन्दी तोड्न आएका तीन ट्रक प्रहरीले कटबासले हिर्काउँदै धरपकड गर्दा ५० भन्दा बढी कर्मचारी घाइते भएको नेपाल वायुसेवा निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवर ले बताए ।
निगम सञ्चालक समितिले यही असार १३ गते निगम विघटन हुने प्रबन्धपत्र र नियमावली मस्यौदा तर्जुमा गरी पर्यटन मन्त्रालय पठाउने निर्णय गरेको थियो । निगम विघटन गरी नयाँ कम्पनी खोल्ने र त्यसमा निगमको स्वामित्व हुने नहुने उल्लेख नभएको उक्त मस्यौदालाई पर्यटनले अर्थ मन्त्रालय पठाइसकेको छ ।
यसैको विरोधमा कर्मचारी युनियनहरूले महाप्रबन्धकलगायत निर्देशकहरूको कार्यकक्षमा गत शुक्रबारदेखि तालाबन्दी गर्दै आएका थिए ।
निर्देशकहरूले आफूहरूलाई केही थाहा नभएको र आफूहरू निगम विघटनको पक्षमा नभएको लिखित जानकारी दिएपछि उनीहरूको कार्यकक्षको ताला हिजो खोलिदिएको संघका पूर्व महासचिव तथा हालका केन्द्रीय सदस्य नरेश यादवले बताए । तर महाप्रबन्धकको कार्यकक्षमा तालबन्दी जारी थियो ।
निगमका अध्यक्ष सुशील घिमिरेले अध्यक्षबाट राजीनामा दिएपछि पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले अध्यक्षता गरेको सञ्चालक समितिले निगम व्यापारीलाई सुम्पने गरी अर्थ मन्त्रालयको लिखित आदेशलाई पालना गर्दै निर्णय गरेको थियो ।
केन्द्रीय सदस्य यादवका अनुसार तीन गाडी प्रहरी आएर निगम कार्यालयको तलमाथि सबै घेरा हाले । ‘महाप्रबन्धकको कोठाको ढोकामा बसिरहेका कर्मचारीहरूमाथि एकाएक प्रहरीले निर्मम तरिकाले लाठी हिर्काएर तितर बितर पारे । कतिपयको टाउकोमा छोट लागेको छ भने कतिपयको ढाडमा, हातमा । धेरै कर्मचारी साथीहरू घाइते हुनु भएको छ,’ यादवले प्रहरी आक्रमणपछि पत्रकार सँग भने ।
व्यवस्थापनको पछिल्लो गतिविधिले आफूहरूलाई सशंकित तुल्याएको पनि यादवले उल्लेख गरे । निगम विघटन गर्ने निर्णय फिर्ता हुनुपर्ने कर्मचारीहरूको एकसूत्रीय माग छ । यादवका अनुसार उक्त माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ ।
संघका अध्यक्ष कुँवर भने एयरपोर्टदेखि अन्य निगमका अन्य कार्यालयहरू ठप्प पार्ने गरी आन्दोलन गर्ने बताए ।