ओम प्रकाश यादव गरुडा समाचारदाता, रौतहट ।
रौतहट प्रहरीले श्रोत नखुलेको अबैध भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा करिव दुईलाख अबैध भारतीय रुपैयाँ सहित रौतहटको गौर नगरपालिका वडा नं. ४ टिकुलीयाका ३० वर्षिय सुखाडी सहनी र गरुडा नगरपालिका वडा नं. १ जयनगरका अन्दाजी ३५ वर्षिय अनिल भन्ने विकास साह पक्राउ परेका छन । बुधवार साँझ अबेर जिल्लाको इशनाथ नगरपालिका वडा नं. १ बन्जरहा टोल स्थित लालबकैया नदिको बाँधबाट चेकजाँचको क्रममा श्रोत नखुलेको १ लाख ८३ हजार ५ सय भारतीय रुपैयाँ सहित दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मातहत सिमा प्रहरी चौकी बन्जरहाबाट खटेको प्रहरी चेकिङ टोलीले सवारी तथा पैदल यात्रुहरुलाई चेकजाँचको क्रममा नेपाल भारत सिमाबाट नेपाल तर्फ आउदै गरेको बा ३९ प १६९१ नम्बरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा सो मोटरसाईकलमा सवार रहेका दुवै जनाको साथबाट उक्त परिमाण बराबरको अबैध रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उक्त रकमको कुनै श्रोत नखुलेकोले आवश्यक अनुसन्धानका लागि मोटरसाइकल सहित दुवै जनालाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डिएसपी नारायण प्रसाद चिमरीयाले बताए । पक्राउ परेका दुवै जनालाई अबैध रकम र मोटरसाइकल सहित आवश्यक कार्यवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरी नायव उपरीक्षक चिमरीयाले बताए ।