कृष्ण तिवारी गरुडा भदौ ७ गते, रौतहट ।
रौतहटको माधवनारायण नगरपालिका वडा नं ६ माधोपुरका वडा अध्यक्ष राजीव कुमार यादवले राहत सामग्रिको विषयलाई लिएर केही विपक्षीले जनतालाई भ्रमित गर्ने काम गरेको आरोप लगाएका छन । आफुले गर्ने गरेको विकास निर्माण लगाएतका काम देखेर हतोसाहित भएका विपक्षी दलका केही नेताले आफना नजिकका पत्रकारलाई प्रयोग गरेर आफना बारेमा झुठो खबर समप्रेशन गराई आफुलाई बदनाम गराउन खोजेको वडा अध्यक्ष यादवले बताए । वडा कार्यालय भवनमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वडा अध्यक्ष यादवले केही दिन अघि मात्र एउटा भिडियोमा वडा सदस्य विरविपुल साहले वडा अध्यक्ष राजीव यादव सयौं बोरा खाद्यान्न सामग्रि कुहाएर नष्ट गरेको भनी आफुमाथी लगाएको आरोप गलत एवं निराधार रहेको बताए । गरिव निमुखा जनतालाई सहयोगका लागि नगरपालिका र प्रदेश सरकारले उपलब्ध गराएको तिन सय बोरा चामल, सयौं बोरा दाल लगाएतका खाद्यान्न सामग्रि कसैलाई वितरण नै नगरी वडा अध्यक्ष राजीव यादवले कुहाएर नष्ट गरेको भनी एक अनलाईनमा खबर प्रकाशन भएको थियो । वडा कार्यालयको गोदाममा तिन सय बोरा चामकल समेत नभएको अवस्थामा तिन सय बोरा चामल नष्ट गरिएको भनी लगाइएको आरोप गलत रहेको उनले बताए । दैविक प्रकोप अर्थात कुनै आफत विपद्मा परेकाहरुलाई सहयोग गर्नका लागि गोदाममा केही मात्रामा स्टक गरी खाद्यान्न सामग्रि राखिएको र त्यसमध्ये अलिकति पनि खाद्यान्न सामग्रि कुहिएर नष्ट नभएको वडा अध्यक्ष यादवले दावी गरेका छन । स्थानीयहरुले वडा अध्यक्ष यादव गरिव निमुखा जनतालाई वितरण गर्नका लागि आएको राहत वितरण नै नगरी गोदाममै कुहाएको दावी गरेपनि वडा अध्यक्ष यादवले उक्त राहत सामग्रि नकुहिएको र सुरक्षित नै रहेको दावी गरे । निर्वाचनमा आफुसँग पराजित भएका केही व्यक्तिले पराजित भएको ऋष साध्न चामल कुहाएको भनी गलत आरोप लगाइ जनतामा झुठो भ्रम फैलाएको उनले बताए । भदौ १५ गते पछि स्टक गरि राखिएको राहत सामग्रि वितरणका लागि दैविक प्रकोप समितिको बैठक बसाइ कसलाई कुन हिसावले राहत दिने भन्ने निर्णय गरी वितरण गर्ने उनले बताए । विपक्षीले राहत सामग्रिकै विषयलाई लिएर आफुलाई बदनाम गर्ने षडयन्त्र रचेको उनको ठम्याई छ । आफुले जनताको चाहना अनुसारको काम गर्दा विपक्षीलाई अपच भएको र उनिहरु आफुमाथी विभिन्न आरोप लगाएर बदनाम गराउन खोजेको उनले बताए ।