ओम प्रकाश यादव गरुडा समाचारदाता भदौ १५ गते, रौतहट ।
नेपाल विधुत प्राधिकरण मौलापुर वितरण केन्द्रले विधुत चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हात पारेको छ । मौलापुर वितरण केन्द्रले गएको २ वर्षमा २४ प्रतिशत विधुत चुहावट नियन्त्रण गर्न सफल भएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा ४० प्रतिशतको हाराहारीमा भएको विधुत चुहावटलाई आर्थिक वर्ष २०७७÷०७८ मा १६ प्रतिशतमा झारेको मौलापुर वितरण केन्द्रले जनाएको छ । विधुत चुहावट नियन्त्रण गर्ने अभियान अन्तर्गत २ वर्षमा करिव २४ प्रतिशत विधुत चुहावट नियन्त्रण गर्न सफल भएको नेपाल विधुत प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख शक्ति साहले बताए । प्राधिकरणले चुहावट नियन्त्रण अभियान सञ्चालन गरेसँगै पहिलेको तुलनामा विद्युत चोरी गर्ने क्रम घटेको समेत उनले बताए ।वितरण केन्द्रका प्रमुख साहका अनुसार चालू आर्थिक वर्षमा अब १६ प्रतिशत विद्युत चुहावट नियन्त्रण गर्न बाँकी रहेकाले सो अभियानलाई निरन्तरता दिइ जिल्लाको बिजुली बत्तीलाई नियमित र व्यवस्थित गर्नेतर्फ प्राधिकरण लागेको बताए । स्थानीय निकायले प्रयास गरे जिल्लामा जनताले नियमित विद्युत् सेवा पाउने र चुहावटलाई नियन्त्रण गर्ने सकिने उनको भनाई छ । स्थानीय निकाय ऐनले पनि स्थानीय तहलाई बिजुली चुहावट नियन्त्रण गर्ने अधिकारसमेत रहेकाले सो बमोजिम बिजुली चुहावट गर्नेलाई कारबाही गर्न सकिने उनले बताए । आर्थिक वर्ष २०७६÷०७७ मा विधुत उपभोग गर्ने कुल १६ हजार ग्राहक रहेकोमा आर्थिक वर्ष २०७७÷०७८ मा त्यो संख्या बढेर २१ हजार पुगेको कार्यालय प्रमुख साहले बताए । त्यस्तै चुहावट नियन्त्रण गर्ने क्रममा आर्थिक वर्ष २०७६÷०७७ मा हुकिङ्ग गरी विधुत चोरी गर्नेहरुलाई कार्यवाही गरी ४ लाख रुपैयाँ राजश्व असुल गरिएको छ भने आर्थिक वर्ष २०७७÷०७८ मा विधुत चोरी गर्नेहरुबाट ५ लाख रुपैयाँ जरिवाना अर्थात राजश्व असुल गरिएको उनले बताए । यसैविच नेपाल विधुत प्राधिकरण मौलापुर वितरण केन्द्रले अघिलो वर्षको तुल्नामा गत वर्ष एक करोड बढी विधुत महसुल असुली गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा १० करोड राजश्व संकलन गरिएकोमा आर्थिक वर्ष २०७७÷०७८ मा ११ करोड रुपैयाँ राजश्व संकलन गरिएको वितरण केन्द्रले जनाएको छ ।
गत वर्ष १५ करोड राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा ११ करोड मात्र संकलन गरिएको वितरण केन्द्रले जनाएको छ ।