वास्तवमा मीठो खानुलाई सुख भन्छन् । तर, वास्तविक सुख भनेको जे–जस्तो रुखोसुखो खाए पनि मज्जाले पचाउन सकियोस् । मान्छेहरू अहिले बचाउनमा ध्यान दिन्छन् तर पचाउनमा दिंदैनन् ।
बचाउनेमा जत्तिकै ध्यान दिनुपर्छ पचाउनेमा पनि । हाम्रो पेटले चार वटा काम गर्छ । पहिलो, स्वस्थ धारण । दोस्रो, धर्म धारण । तेस्रो, सौन्दर्य धारण । चौथो, गर्भधारण । पेटको पहिलो काम आरोग्य धारण हो । अर्थात् शरीरलाई स्वस्थ बनाइराख्नु हो । धेरैजसो रोग पेटकै विकारले पैदा हुन्छ । आयुर्वेदले भन्छ, ‘पेटमा मल सडिएपछि सबै रोग सुरु हुन्छ ।’ पेटको दोस्रो काम हो, धर्म धारण । पाप वा धर्म गराउने पनि यही पेट हो । पेट ठीक छ भने मान्छे ठीक हुन्छ । ऊ आनन्दित र सन्तुष्ट हुन्छ । कुकर्म सोच्दैन । पेट खराब छ भने उसको मन पनि गडबड हुन्छ ।
पेटको तेस्रो काम सौन्दर्य धारण । हाम्रो अनुहार, छाला भनेको पेटको ऐना हो । यदि पेट सफा छ, सहज रूपमा खानेकुरा पचाएको छ, विकार छैन भने छालामा चमक देखिन्छ । अनुहारमा आभा देखिन्छ ।
पेटको चौथो काम गर्भधारण । हरेक सृष्टिको रचनाकार हो गर्भ । हामी जति पनि धर्तीमा आएका छौं गर्भबाटै आएका छौं । आमाको गर्भबाट केही न केही अंश लिएर हामीले आफ्नो शरीर बनाएका छौं ।
जब हामी सन्तानको रचना गर्छौं, त्यससँग पेटको सम्बन्ध हुन्छ । नवजात शिशुको नाभिसँग आमाको नाभि जोडिएको हुन्छ । त्यसैले हाम्रो नाभि रहेको स्थान पेटको धेरै ठूलो महत्व छ । अब यो पेटलाई स्वस्थ, तगडा, बलियो राख्नु हाम्रो धर्म हो, प्रथम दायित्व हो । तपाईं–हामीलाई थाहा छ, धेरैको लागि समस्या बनिरहेको छ पेट । ग्याष्ट्रिक, एसिडिटी, अजीर्ण, अपच, वायु विकारले सताइरहेको छ । नयाँ–नयाँ रोगहरू पनि पेटलाई गाँज्न आइपुगेको छ । अल्सर, क्यान्सरले पनि पेटलाई छाडेको छैन । यसरी पेट नै रोगी भएपछि मान्छे तन्दुरुस्त रहने कुरा भएन ।
न शरीर बलियो हुन्छ, न सौन्दर्य कायम रहन्छ । पेटले धर्म छाडेपछि शरीरले पनि आफ्नो कर्म छाड्छ । त्यसैले पेटलाई स्वस्थ, चुस्त राख्नु जरूरी छ । पेटलाई बुझौं हाम्रो पूर्वीय संस्कृतिले पेटलाई कसरी प्राकृतिक रूपमै बलियो र तगडा राख्ने भन्ने विधि सिकाएको छ । खासगरी प्राणायाम क्रिया, योग आसनले पेटलाई बलियो बनाउन सकिन्छ । पेटको विकार हटाउन सक्छौं ।
तर, जान्नुपर्ने कुरा के भने पेट गडबड भएपछि उपचार खोज्नुभन्दा पेट खराब हुनै नदिनु उत्तम हो । यसका लागि पहिलो शर्त हो, सही खानपान । हामी मोबाइल किन्नुअघि सय पल्ट त्यसको फिचरबारे हेर्छौं, बुझ्छौं ।
मोटरसाइकल–गाडीमा तेल हाल्नुप¥यो भने ‘कति शुद्ध छ ? कतै मिसावट त छैन’ भनेर सोधीखोजी गर्छौं । किनभने अशुद्ध तेल हालेमा इन्जिन खराब हुन्छ । जबकि पेटमा चाहिं जे पनि हाल्छौं । कुन खानेकुराले पेट बिगार्छ भनेर सोच्दैनौं । गाडीको त्यति माया लाग्छ तर यो अनमोल शरीरप्रति हामी खेलाँची गर्छौं । हामी जे खान्छौं, त्यो खानेकुराबारे परिचित हुनुपर्छ । नचिनेको खाना नखाने । घरमा नचिनेको पाहुना आयो भने हामी प्रवेश गर्न दिंदैनौं । त्यसरी नै पेटले नचिनेको खानेकुरा नखाऔं । सही खानपान एउटा कुरा भो । अर्को महत्वपूर्ण कुुरा के भने, खाएको कुरा राम्ररी पचाउन सक्नुपर्छ ।
आहार कार्यको महत्वपूर्ण पाटो हो पाचन । खानामा रहेको पोषणलाई राम्ररी अवशोषण गर्ने, बाँकी रहेको विकारलाई राम्ररी निष्काशन गर्ने हुनुप¥यो । जब खानेकुरा राम्ररी पच्दैन पेटमा बोसो लाग्न थाल्छ । पेट बढ्न थालेपछि सतर्क हुनुपर्छ । बैंकको ब्याज बढ्दा हामी जसरी सावधान हुन थाल्छौं, त्यसरी नै पेटमा बोसो बढेपछि पनि सजग हुनुपर्छ । यी चाहिं व्यावहारिक नियम भए । आयुर्वेदका दृष्टिले पनि केही नियम छन् । योगका दृष्टिले पनि केही आसन–क्रिया छन् ।
पाचन क्षमता बढाउने प्राकृतिक तरिका बिहान उठ्नासाथ मनतातो पानी पिउनु पाचनका लागि सर्वोत्तम हो । बिहान शौचालय जानुअघि मनतातो पानी पिउने । त्यसपछि गर्ने चार वटा आसन क्रिया छन् । जस्तो, ताडासन, तिर्यक ताडासन, कटिचक्रासन, उदर आकर्षण ।राम्ररी दिसा हुन्छ । पेट सफा हुन्छ । शौचालयमा धेरै समय गुजार्नुपर्दैन । शौच क्रिया सकेपछि शरीरबाट पसिना निकाल्ने कुनै गतिविधि गर्न सकिन्छ ।
चाहे व्यायाम गरेर होस्, काम गरेर होस्, खेलेर वा दौडिएर । शरीरबाट पसिना आउनु भनेको पाचन प्रणाली बलियो बनाउनु हो । केही शक्तिवद्र्धक आसन छन्, जसले पनि पेटलाई बलियो बनाउँछ । सूर्य नमस्कार, प्रज्ञा योग लगायतका विधिहरू अपनाउन सकिन्छ । पेटलाई लक्षित गरेर अर्को योग क्रिया गर्न सकिन्छ, जसलाई अग्निसार क्रिया भनिन्छ ।
यो भनेको पेटलाई हल्लाउने हो । सास बाहिर छाड्ने र नरम पेटलाई मज्जाले अगाडि–पछाडि, तल–माथि, दायाँ–बायाँ हल्लाइदिने । यसले पेटको आन्तरिक मांसपेशीहरू सक्रिय र बलियो हुन्छ । गड्यौला हिंडे जसरी पेटमा रहेको मललाई बटारिंदै, तन्किंदै, गुडुल्किंदै तलतिर ठेल्छ । पेटमा मल सड्न पाउँदैन । पेट सफा हुन्छ । अब पेटलाई बलियो बनाउन प्राणायाम विधिहरू पनि गर्नु उपयोगी हुन्छ । अनुलोम विलोम, कपालभाती जस्ता प्राणायामले पेटलाई बलियो बनाउँछ । सुधार गरौं गल्ती हामीले गर्ने केही गल्ती छन्, जसले पेटलाई रोगी बनाउँछ । जस्तो एकै पटकमा धेरै खानु । खाना खानासाथ सुत्नु । राति अपच हुने गरी खानु ।
खाना खाने नियम छन् । जस्तो बिहान पुग्दो खाने त्यसपछि क्रमशः खानाको मात्रा घटाउँदै जाने । राति सकेसम्म थोरै र सुपाच्य खानुपर्छ । सूर्यास्त अघि खानु सर्वाेत्तम हो । खाना खाएको दुई वा तीन घण्टापछि मात्र सुत्ने । वा खाना खाने र सुत्ने अवधिबीच दुई–तीन घण्टाको अन्तराल हुनुपर्छ । यसरी राति कम खाएपछि पेटमा सड्न पाउँदैन । भोलिपल्ट बिहान पेट हल्का र सफा हुन्छ । स्वादका लागि जंकफुड, फास्टफुड, प्याकेटबन्द, प्रशोधित
खानेकुरा बन्द गरौं ।
सकेसम्म ऋतु, भूगोल, हावापानी अनुसार उत्पादन हुने प्राकृतिक भोजन गरौं । फाइबर र रेसादार खानेकुराले थाली भरौं ।
खानेकुरा खाँदा हतार नगरौं । दाँतलाई पनि काममा लगाऔं । मिहिन ढंगले चपाउन खाऔं । यसरी विस्तारै, राम्ररी चपाएर खाएपछि त्यो खानेकुरा सुपाच्य हुन्छ ।अन्नबाली उत्पादन गर्न वर्षदिन लाग्छ, त्यसलाई पकाउन तीन–चार घण्टा लाग्छ तर हामी खानका लागि दुई मिनेट पनि लगाउँदैनौं ।। यसलाई सन्तुलित राख्न जरूरी हुन्छ । तर, त्यो अग्नि निभ्यो भने अपच, अजीर्ण, कब्जियत जस्ता अनेकन् रोग लाग्छ ।
पेटको अग्नि कसरी बढाउने ? १. पेटको अग्नि बढाउन एउटा योग छ, अग्निसार । यसले पेटको अग्नि बढाउँछ । प्राणायाम गरौं । यसले प्राणशक्ति बढाउँछ । दिनमा एक पटक शरीरबाट पसिना निकालौं । शरीरलाई शिथिल हुन नदिऔं । हलचल गरिरहनुपर्छ । हिंडौं, खेलौं, काम गरौं । हप्तामा वा पन्ध्र दिनमा उपवास बसौं । बेलाबखत जडीबुटी खाऔं ।