
काठमाडौँ ,१८ कात्तिक। जेनजी विद्रोहपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नभेटेका नेपाली कांग्रेसका सभापति गगन थापाले मंगलबार साँझ ओलीकै निवासमा पुगेर भेट गरेका छन् ।
लामो संवादहीनता तोड्दै सभापति थापा मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकार र सरकारविरुद्ध विपक्षी दलहरूको गठजोडबारे छलफल गर्न ओली निवास गुण्डुमा पुगेका हुन् ।
कांग्रेसका उपसभापति मधु आचार्यका अनुसार सभापति थापा कांग्रेसको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा एमालेले लिएको समर्थन फिर्ता र समसामयिक राजनीतिबारे कुराकानी गर्न पार्टीको निर्णय अनुरूप नै ओली निवास गुण्डुमा पुगेका हुन् ।
‘सभापतिज्यू पार्टीबाट निर्णय गरेरै एमाले अध्यक्षज्यूलाई भेट्न उहाँको निवासमा पुग्नुभएको हो,’ उपसभापति आचार्यले भने, ‘उहाँहरूबिच हाम्रो (कांग्रेस) नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा एमालेले समर्थन फिर्ता लिएको अवस्था र समसामयिक राजनीतिबारे कुराकानी भयो ।’
एमाले अध्यक्ष ओलीले गत पुस मसान्तमा भएको कांग्रेसको विशेष महाधिवेशनदेखि नै धेरैपटक संवादको प्रयास गरे पनि थापाले भेट्न चाहेका थिएनन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका बेलामा पनि ओलीले सम्वाद गर्न चाहेका थिए, थापा तयार भएनन् ।
बरु ओलीसँग भेट गर्न तत्कालीन उपसभापति र अहिले १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापति बेनका विश्वप्रकाश शर्मालाई पठाए ।
आफूसँग थापाले दूरी राखेको थाहा पाएपछि ओली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा निमन्त्रण पाएर पनि महासचिव शंकर पोखरेललाई पठाए आफू गएनन् ।
त्यही सन्दर्भमा मुख्यमन्त्री यादवको आग्रहमा थापा ओलीलाई भेट्न पुगेका हुन् ।
