
रौतहट,१९ कात्तिक। रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा प्रहरीले दुई यात्रुवाहक बसबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय डुमरियाको अगाडि बुधबार राति गरिएको सवारीसाधन जाँचका क्रममा गौरबाट काठमाडौँतर्फ जाँदै गरेका दुई बसबाट बेवारिसे अवस्थामा रहेका सामान बरामद गरिएको हो ।
प्रहरीका अनुसार ना.प्र.०३–००१ ख. २५४० नम्बरको नेपाल दर्शन बसबाट तीन बोरा (१०० केजी) सुर्ती र ११ कार्टुन (११० केजी) अन्जिर बरामद गरिएको छ ।
त्यसैगरी, ना.प्र.०३–००१ ख. २७०५ नम्बरको अनमोल ट्राभल्स बसबाट २५ केजी पानको पात, विभिन्न रङका २०० केजी रङ, गणेश र सरस्वतीका फ्रेमसहितका साना–ठूला ४८ थान तस्बिर तथा ३०० थान ठूला आकारका पोस्टर तस्बिर बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार प्रहरी वरिष्ठ हवल्दार निरोज कार्कीको कमान्डमा खटिएको चेकिङ टोलीले ती सामान बरामद गरेको हो ।
बरामद गरिएका सामानको प्रारम्भिक मूल्याङ्कन दुई लाख २२ हजार ६०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। सामान कसले र कहाँबाट ल्याएको भन्ने विषयमा थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
बरामद सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय डुमरियामा राखिएको छ । सामान बरामद गरिएका दुवै बस भने यात्रुसहित गन्तव्यतर्फ गएको प्रहरीले जनाएको छ ।
