वर्तमानकाल सम्वाददाता
पुस २७,रौतहट
रौतहट जिल्लाको उतरी भेगमा पर्ने हाकिम विहिन रहेको वृन्दावन नगरपालिकाले लामो समयपछि प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । लामो समयदेखी कार्यालय प्रमुख वा प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको वृन्दावन न पा को प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रन्जय पटेलले पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वृन्दावन नगरपालिकाको कार्यालय प्रमुखको जिम्मेवारी शाखा अधिकृत पटेललाई दिएको छ ।
रौतहटको राजदेवी नगरपालिका–५ पताही निवासी पटेललाई सामान्य प्रशासन मन्त्रालयले विहिवार वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको हो । जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका नेताहरुबीचको वाद विवादकाकारण विगत ६ महिनादेखी वृन्दावन नगरपालिका हाकिम अर्थात प्रशासकीय अधिकृत विहिन रहदै आएको छ ।लामो समयदेखी हाकिम नै नहुँदा सो पालिकाका आर्थिक सम्बन्धि सम्पूर्ण कामकाज ठप्परहेको छ ।
हाकिमको अभावमा सर्वसाधारण नागरिकको समेत विभिन्न कामकाज प्रभावित हुनुका साथै विकास निर्माणका कामहरु समेत ठप्प हुँदै आएको छ । दुई महिना अघि मन्त्रालयले वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी उपसचिव सुरेन्द्र प्रधानलाई दिएको थियो तर प्रधान सो पालिकामा एकसाता समेत टिकन सकेका थिएनन् ।आफना असहमतिका बावजुद मन्त्रालयले बलजबरजस्ती प्रधानलाई पठाएको भन्दै नगर प्रमुख विनोद प्रसाद कुर्मीले उनलाई स्वीकार नगरेपछि प्रधान सो पालिका छाडेर अन्यत्र गएका थिए ।
नेपाली कांग्रेस, नेकपा एमाले लगाएत दलका नेताहरुले प्रधानलाई राख्नुपर्ने पक्षमा थिए भने नेकपा एकिकृत समाजवादीबाट मेयरमा निर्वाचित कुर्मिले प्रधानलाई कुनै हालतमानराख्ने अडान लिएका थिए ।नेकपा एसबाट नै उपमेयरमा निर्वाचित संगीता देवी राम सहितका केहि जनप्रतिनिधिहरुले पनि प्रधानकै पक्षमा उभिएका थिए । राजनीतिक दलका नेता र जनप्रतिनिधबीच कुरा नमिल्दा त्यहाँ काम गर्ने वातावरण नभएको भन्दै प्रधान वृन्दावनबाट फिर्ता भएका थिए ।
मेयर कुर्मीले राख्न नमानेपछि उपसचिव प्रधान वृन्दावनबाट एकसातामै सरुवा भइ फतुवा विजयपुर नगरपालिकाको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका थिए । वृन्दावनबाट प्रधान सरुवा भएदेखी हालसम्म अर्को प्रशासकीय अधिकृत नआउँदा नगरका विभिन्न कामकाज प्रभावित हुँदै आएको अवस्थामा मन्त्रालयले अर्को कार्यालय प्रमुखको रुपमा शाखा अधिकृत रन्जय पटेललाई जिम्मेवारी दिएर पठाएको छ । वृन्दावनको प्रशासकीय अधिकृतको जिम्मेवारी पटेलले पाएपनि उनी अब कुन दिन नगरपालिकामा हाजिर हुने भन्ने कुरा थाहा हुन सकेको छैन । पटेल कार्यालयमा हाजिर भइ कार्यभार सम्हालेपछि वृन्दावनमा हाकिमको अभावमा अवरुद्ध सबै सेवा एवं विकास निर्माण लगाएतका कार्य सुचारु हुने छन